वैशाख ३० घोराही
रोल्पाली सेवा समाज नेपाल र संजिवनी टिचिङ अस्पताल बीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम घोराही उपमहानगरपालिका वडा नं. ३ वर्गदुवास्थित अस्पताल परिसरमा सम्पन्न भएको छ । स्वास्थ्य सेवा विस्तार, सामाजिक उत्तरदायित्व तथा आपसी सहकार्यका विषयमा केन्द्रित उक्त कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै रोल्पाली सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष डिलाराम ओली ले संस्थाको स्थापना, उद्देश्य तथा हालसम्म सञ्चालन भएका सामाजिक गतिविधिबारे जानकारी गराउनुभएको थियो । उहाँले दाङमा अत्याधुनिक स्वास्थ्य सेवा विस्तार हुनु सुखद विषय भएको उल्लेख गर्दै संजिवनी टिचिङ अस्पतालले छोटो समयमै नागरिकको विश्वास जित्न सफल भएको बताउनुभयो । अध्यक्ष ओलीले विशेषगरी मिर्गौला रोगीहरूको उपचारका लागि हेमोडायलासिस सेवा अझ विस्तार गर्न आवश्यक रहेको औंल्याउँदै हाल रहेका १५ वटा हेमोडायलासिस शैयालाई थप गर्न सके यस क्षेत्रका बिरामीलाई ठूलो राहत पुग्ने धारणा राख्नुभयो ।
त्यसैगरी समाजका केन्द्रीय महासचिव निसान वली ले रोल्पा जिल्लाका नागरिकले भोगिरहेका स्वास्थ्य समस्याबारे चर्चा गर्नुभयो । उहाँले दुर्गम भौगोलिक अवस्था र विशेषज्ञ स्वास्थ्य सेवाको अभावका कारण अझै धेरै नागरिकले समयमै उपचार पाउन नसकेको उल्लेख गर्दै संजिवनी टिचिङ अस्पतालले रोल्पासहित आसपासका जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा समाजका दाङ जिल्ला अध्यक्ष ओम प्रकाश खड्का, निवर्तमान सल्लाहकार शक्तिराम डाँगी लगायत वक्ताहरूले अरबौं रुपैयाँको लगानी दाङ भित्रिनु प्रदेशकै लागि सकारात्मक उपलब्धि भएको बताएका थिए । उनीहरूले आधुनिक स्वास्थ्य सेवा दाङमै उपलब्ध हुन थालेपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता क्रमशः घट्दै जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा रोल्पाली सेवा समाज नेपालका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरू गरी ३५ जनाभन्दा बढीको सहभागिता रहेको जनाइएको छ । उक्त अवसरमा संजिवनी टिचिङ अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोका ले अस्पतालको लगानी, हालको अवस्था, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउनुभयो । उहाँले अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित सेवा विस्तार भइरहेको बताउनुभयो । साथै विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण तथा प्रभावकारी व्यवस्थापनमार्फत नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा कन्सल्टेन्ट फिजिसियन डा. बाचस्पति सुबेदी ले अस्पतालबाट हाल प्रदान भइरहेका सेवा, उपचार प्रणाली तथा आगामी योजनाबारे विस्तृत जानकारी दिनुभयो । उहाँले आकस्मिक सेवा, विशेषज्ञ उपचार, प्रयोगशाला सेवा, सघन उपचार कक्ष लगायतका सेवामा अस्पतालले निरन्तर सुधार गरिरहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका प्रमुख प्रशासकीय अधिकृत अनिल अर्याल ले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत सुशील रिजाल ले गर्नुभएको थियो । दुवै संस्थाबीच स्वास्थ्य सेवा विस्तार, सामाजिक उत्तरदायित्व वहन तथा नागरिकको स्वास्थ्य पहुँच अभिवृद्धिका लागि आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको आयोजकले जनाएको छ ।










