२०८३ बैशाख १८ गते शुक्रवार

रोल्पामा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्यो, सनाखत हुन बाँकी

तुलसीपुर, १८ बैशाख ।
रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप विहिवार दिउँसो थवाङ गाउँपालिका १ जलजलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परी जिपमा सवार मध्ये २० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा ४ बालक ,४ पुरुष र १२ जना महिला गरी २० जना रहेको उहाले जानकारी दिनुभयो । उहाका अनुसार मृतकहरुको शव संकलन गरी उद्धार गर्ने कार्य भईरहेको र सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा परी घाईते पुर्बीरुकुम सिस्ने गाउँपालिका ५ टाकुरा बस्ने बर्ष ३२ का समिर कामीको आधारभुत जलजला अस्पताल थवाङ रोल्पामा सामान्य उपचार पछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

जिपमा जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने धार्मिक मेलामा सहभागी हुने नागरिकहरु सवार रहेको बताईएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस