दाङ २४ बैशाख
मुस्लिम समुदायको हक, अधिकार, शिक्षा, रोजगारी तथा सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले मुस्लिम समुदायको सशक्तिकरण सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले मुस्लिम समुदायको अवस्था, चुनौती र समाधानका उपायबारे आफ्ना धारणा राख्दै राज्यका सबै निकायले समावेशी नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्दिकी ले मुस्लिम समुदाय अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी तथा राजनीतिक पहुँचका हिसाबले पछाडि रहेको उल्लेख गर्दै राज्यले विशेष नीति तथा कार्यक्रममार्फत समुदायको सशक्तिकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरे पनि व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । माननीय सिद्दिकीले मुस्लिम महिलाहरूको शिक्षा र नेतृत्व विकासमा विशेष ध्यान दिनुपर्ने बताउँदै समुदायभित्र चेतना अभिवृद्धि तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । “समुदायको विकासका लागि शिक्षा सबैभन्दा ठूलो आधार हो, त्यसैले बालबालिका र महिलाको शिक्षामा लगानी बढाउनुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रमको अध्यक्षता मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अलिले गर्नुभएको थियो । उहाँले मुस्लिम समुदायका सवाललाई राज्यका विभिन्न निकायसम्म पुर्याउने तथा नीति निर्माण तहमा समुदायको पहुँच विस्तार गर्ने काम मुस्लिम आयोगले गरिरहेको जानकारी दिनुभयो । उहाँले मुस्लिम समुदायको पहिचान, भाषा, संस्कृति र धार्मिक स्वतन्त्रताको संरक्षण गर्दै सामाजिक तथा आर्थिक सशक्तिकरणमा सबै पक्षले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नरुलाल चौधरी ले स्थानीय तहले सबै समुदायलाई समेटेर विकास कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । उहाँले मुस्लिम समुदायका युवालाई स्वरोजगार तथा सीप विकाससँग जोड्न आवश्यक रहेको धारणा राख्नुभयो । त्यसैगरी घोराही उपमहानगरपालिकाकी उपप्रमुखमा डिसीले महिला तथा बालबालिकाको सहभागिता बढाउन स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै मुस्लिम समुदायका महिलालाई पनि नेतृत्व तहमा अघि ल्याउनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल ले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामुदायिक एकतालाई बलियो बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले सबै समुदायबीच आपसी समझदारी र सहकार्य कायम राख्न प्रशासन सधैं प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघका सल्लाहकार विपुल पोख्रेल ले सञ्चारमाध्यमले मुस्लिम समुदायका सकारात्मक विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो । उहाँले समुदायका वास्तविक समस्या र सम्भावनालाई उजागर गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । ओली वंशका केन्द्रीय उपाध्यक्ष बेचन ओली ले समाजमा विद्यमान विभेद अन्त्य गरी सबै समुदायलाई समान अवसर उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबै समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी ले मुस्लिम समुदायका सवाललाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी मौलाना मोहम्बद अंबासले धार्मिक सहिष्णुता, सामाजिक एकता र शिक्षाको महत्वबारे चर्चा गर्दै मुस्लिम समुदायलाई आधुनिक शिक्षा र सीपसँग जोड्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सञ्चालक मिनराज आचार्यले समुदायका विविध सवालमाथि खुला छलफल भएको र सहभागीहरूले महत्वपूर्ण सुझाव प्रस्तुत गरेको जानकारी दिनुभयो । कार्यक्रममा मुस्लिम आयोगका सदस्य माननीय समसुल हंकले स्वागत मन्तव्य राख्दै मुस्लिम समुदायको उत्थानका लागि राज्य, स्थानीय तह, नागरिक समाज र सञ्चार क्षेत्रबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न संघसंस्था, नागरिक समाज, पत्रकार, बुद्धिजीवी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा राजनीतिक सहभागिता सुनिश्चित गर्न ठोस कार्यक्रम आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।










