बैशाख
थवाङ गाउँपालिका–१ जलजलामा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकहरूप्रति प्रतिनिधि सभा सदस्य साजिदा खातुन सिद्धिकी ले हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। साथै उहाँले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। रोल्पाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परी धेरैले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै सांसद सिद्धिकीले यसलाई अत्यन्तै दुःखद र संवेदनशील घटना भएको बताउनुभयो।
उहाँले यस्ता दुर्घटनाले समाजलाई गहिरो पीडा दिने उल्लेख गर्दै मृतकहरूप्रति सम्मान प्रकट गर्नुभएको हो। सांसद सिद्धिकीले दुर्घटनामा परी ज्यान गुमाएका सम्पूर्ण मृतकका परिवारलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ। “दुर्घटनामा ज्यान गुमाउने परिवारलाई आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्न सरकार गम्भीर हुनुपर्छ,” उहाँको भनाइ उद्धृत गर्दै बताइएको छ। त्यसैगरी उहाँले देशभर सडक सुरक्षाको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका सडकहरू अझै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै सडक सञ्जालको स्तरउन्नति गर्न सरकारलाई आग्रह गर्नुभयो। सुरक्षित, व्यवस्थित र दिगो सडक पूर्वाधार निर्माणतर्फ तत्काल ध्यान दिनुपर्ने उहाँको जोड थियो। उहाँले सम्बन्धित निकायलाई यस्ता दुर्घटनाको कारणबारे गम्भीर अनुसन्धान गर्न र भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक कदम चाल्न समेत आग्रह गर्नुभएको छ। यस घटनाले पुनः एकपटक नेपालका ग्रामीण सडकहरूको अवस्था, सवारी सुरक्षाको कमी र पूर्वाधार विकासको आवश्यकतालाई उजागर गरेको छ।










