२०८३ बैशाख १७ गते बिहिवार

गुरुकुल एकेडेमी घोराही र रेडिमेड तथा फेन्सी व्यवसायी समिति घोराहीबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न

घोराही १७ चैत
स्वास्थ्य प्रवर्द्धन तथा आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले गुरुकुल एकेडेमी घोराही र रेडिमेड तथा फेन्सी व्यवसायी समिति घोराहीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा उत्साहजनक प्रतिस्पर्धा देखिएको थियो भने दुवै पक्षका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। सम्पन्न खेलमा रेडिमेड तथा फेन्सी व्यवसायी समिति घोराहीले गुरुकुल एकेडेमी घोराहीलाई ९–७ गोल अन्तरले पराजित गर्दै जित हात पारेको छ। खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो, जहाँ दुवै टोलीले आक्रामक र संयमित खेल प्रदर्शन गरेका थिए। खेल अवधिभर दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले खेललाई थप रोमाञ्चक बनाएको थियो।

गुरुकुल एकेडेमी घोराहीका प्लस टु संयोजक राजन अधिकारीका अनुसार खेलले विद्यार्थी, शिक्षक तथा व्यवसायीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। यस्ता गतिविधिहरूले शैक्षिक संस्थाहरू र स्थानीय समुदायबीच सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, विद्यालयका प्रधानाध्यापक प्रदीप राजभण्डारीले “स्वास्थ्यका लागि खेल” भन्ने मूल नारालाई आत्मसात गर्दै आत्मीयता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले खेल आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले यस्ता मैत्रीपूर्ण खेलकुद कार्यक्रमहरूले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो। कार्यक्रमले विद्यालय र व्यवसायी बीचको सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने आयोजक पक्षले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस