काठ्माण्डौ २६ चैत
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको ८ दिनमै सबै संसदीय विषयगत समितिहरू गठन भएका छन्। संसद्को प्रभावकारी सञ्चालन तथा विधेयकहरूको गहन अध्ययन–अनुगमनका लागि महत्वपूर्ण मानिने यी समितिहरूलाई शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले स्वीकृति दिएको हो। संघीय संसद् अन्तर्गत कुल १६ वटा संसदीय विषयगत समिति रहने व्यवस्था छ, जसमध्ये राष्ट्रिय सभा अन्तर्गतका चार वटा समिति यसअघि नै गठन भइसकेका थिए। प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति तथा दुई वटा संयुक्त समिति रहने व्यवस्था अनुसार सबै समितिको गठन प्रक्रिया अब पूरा भएको छ।
शुक्रबारको बैठकमा समितिहरू गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनुका साथै सदस्यहरूको नामावली पनि अनुमोदन गरिएको थियो। यससँगै संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकनसम्बन्धी संयुक्त समिति समेत गठन गरिएको छ। यी समितिहरूले राज्य सञ्चालनका नीतिगत विषयहरू, कानुनी व्यवस्था तथा कार्यान्वयनको निगरानीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, दाङबाट प्रतिनिधित्व गर्ने साजिदा सिद्धिकी नेकपा एमाले बाट निर्वाचित भई कानुन, न्याय तथा संसदीय समिति मा सदस्यका रूपमा चयन हुनुभएको छ। उहाँको यस समितिमा सहभागिताले कानुनी सुधार, न्याय प्रणालीको सुदृढीकरण तथा संसदीय प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। संसदीय समितिहरू गठन भएसँगै अब संसद्को काम कारबाही थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ। विधेयक अध्ययन, नीति निर्माण, सरकारी कामको निगरानी तथा जनचासोका विषयमा गहिरो छलफल गर्ने जिम्मेवारी यी समितिहरूले वहन गर्नेछन्।










