२०८३ बैशाख ८ गते मङ्गलवार

गुरुकुल एकेडेमी घोराहीकी छात्रा गरीमा चौधरीको उत्कृष्ट सफलता, राष्ट्रपति रनिङशिल्डमा बहुपदक विजेता बन्न सफल

दाङ ८ बैशाख
गुरुकुल एकेडेमी घोराहीकी छात्रा गरीमा चौधरीले १६ औं दाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा अवार्ड हात पार्न सफल भएकी छन्। उनले १०० मिटर दौड, २०० मिटर दौड, १००×४ रिले तथा ४००×४ रिले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै आफ्नो खेल प्रतिभा प्रमाणित गरेकी हुन्। यसैगरी लङजम्पमा द्वितीय स्थान हासिल गरेकी चौधरीले प्रतियोगिताकै उत्कृष्ट एथलेटिक खेलाडी अवार्ड समेत जित्न सफल भएकी छन्। हाल गुरुकुल एकेडेमी घोराहीमा कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत चौधरीले चौघेरा स्कुलबाट एसइई उत्तीर्ण गरेपछि प्लस टु अध्ययनका लागि गुरुकुलमा भर्ना भएकी थिइन्।

गुरुकुल एकेडेमीमा अध्ययन प्रारम्भ गरेपछि आफूले खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको उनले बताएकी छन्। चौधरीका अनुसार विद्यालयले उपलब्ध गराएको शैक्षिक वातावरण, खेलकुदमा प्रोत्साहन तथा आवश्यक प्रशिक्षणले आफूलाई सफलतासम्म पुग्न महत्वपूर्ण भूमिका खेलेको हो। उनले दाङ जिल्ला मात्र नभई प्रदेश स्तरीय विभिन्न प्रतियोगितामा समेत सहभागी भई पटक–पटक पुरस्कार जित्न सफल भएको उल्लेख गरिन्।

गुरुकुल एकेडेमी घोराहीका प्लस टु संयोजक राजन अधिकारीले पनि विद्यालयका विद्यार्थीहरू शिक्षा सँगसँगै संस्कार, संस्कृति र खेलकुदका क्षेत्रमा समेत अब्बल बन्दै गएको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयले विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राख्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। यसैबीच, गुरुकुल एकेडेमीले आगामी शैक्षिक सत्र २०८३ बाट कृत्रिम बुद्धिमत्तामा आधारित शैक्षिक प्रणाली अवलम्बन गर्दै आधुनिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने तयारी गरेको जनाएको छ। विद्यालयले यस कदमले विद्यार्थीको सिकाइलाई अझ प्रभावकारी र व्यवहारिक बनाउने विश्वास लिएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस