२०८३ जेष्ठ १६ गते शनिवार

दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला’ मा आज सम्झना लामिछानेकाे प्रस्तुति रहने

दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला’ मा आज सम्झना लामिछाने मगरसहितका कलाकारको प्रस्तुति हुने
दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ मा आज लोकप्रिय कलाकारहरूको विशेष प्रस्तुति हुने भएको छ । मेलाका सांस्कृतिक संयोजक गोपाल बुढामगरले आजको कार्यक्रम दर्शकका लागि आकर्षणको केन्द्र बन्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार चर्चित गायिका सम्झना लामिछाने मगरको विशेष सांगीतिक प्रस्तुति रहनेछ । साथै माधव जोन खत्री र रुपा घर्ती मगरले सांगीतिक प्रस्तुति दिनुका साथै कार्यक्रम सञ्चालन गर्नुहुनेछ ।
मनोरञ्जनात्मक प्रस्तुतितर्फ दर्शकका प्रिय जोकर सागर गिरी, ‘संसारकै होचो मान्छे’ का रूपमा परिचित मनोज गोर्खाली तथा हास्य कलाकार डोरबहादुर खपाङ्गी मगरको प्रस्तुति रहने संयोजक बुढामगरले जानकारी दिनुभयो ।
मेलामा सांगीतिक तथा हास्य प्रस्तुतिसँगै मगर समुदायको मौलिक नृत्य, भेषभूषा र सांस्कृतिक झाँकी, स्थानीय कला–संस्कृतिको प्रदर्शनी, स्थानीय उत्पादन तथा परिकारको स्टल, हस्तकलाका सामग्री र पर्यटन प्रवद्र्धनसम्बन्धी जानकारी कक्ष समेत सञ्चालनमा छन् ।
नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको संरक्षकत्व तथा नेपाल मगर संघ घोराही उपमहानगर कार्यसमितिको आयोजनामा सञ्चालन भइरहेको मेलाको मुख्य उद्देश्य संघको बहुउद्देश्यीय सांस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउनु, स्थानीय संस्कृतिको संरक्षण र दाङको पर्यटन प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार माघे मेलाले संस्कृति, मनोरञ्जन र पर्यटनलाई एउटै थलोमा जोड्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
मेलामा मौलिक नृत्य, परम्परागत भेषभूषा, स्थानीय खानाका परिकार, हस्तकला तथा पर्यटन प्रवद्र्धनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनीले मेलालाई अझ रंगीन बनाउनेछ । दर्शकको आकर्षणका लागि आइफेल टावर, जलपरी र लण्डन ब्रिज जस्ता आकर्षक संरचनाहरू पनि निर्माण गरिएको आयोजकले जनाएको छ ।
प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ । क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि ८० रुपैयाँ र ५ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
न्यू रोल्पाली डाँगी स्टोर, तुलसीपुर मुख्य प्रायोजक रहेको मेलाको संरक्षकमा घोराही उपमहानगरपालिकाको कार्यालय र नेपाल मगर संघ दाङ जिल्ला समन्वय समिति रहेका छन् ।

प्रकाशित मिति : २०८२ पुष २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस