काठमाडौँ — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरू निर्वाचित भएका थिए। निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १८२ सिटसहित सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ भने नेपाली कांग्रेसले ३८, नेकपा ९एमाले०ले २५, नेपाल कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्। यसबाहेक एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।
यसै क्रममा दाङबाट प्रतिनिधित्व गर्ने नेतृ साजिदा सिद्धिकीले पनि प्रतिनिधिसभा सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उहाँ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को तर्फबाट समानुपातिक प्रणालीमार्फत सांसदमा मनोनित हुनुभएको हो। समाजसेवा, सामुदायिक नेतृत्व र राजनीतिक सक्रियताको संयोजनबाट पहिचान बनाउन सफल सिद्धिकीको संघीय संसदमा प्रवेशलाई विशेष उपलब्धिका रूपमा हेरिएको छ। मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै संसदमा पुग्नु उहाँका लागि मात्र नभई दाङका मुस्लिम समुदाय तथा महिलाहरूका लागि पनि महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले समावेशी प्रतिनिधित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।दाङ जिल्लाको घोराही क्षेत्रमा जन्मिएर हुर्किनुभएकी सिद्धिकी बहुसांस्कृतिक तथा बहुजातीय समाजमा बढ्दै जाँदा सामाजिक सहकार्य, सहिष्णुता र समावेशिताको मूल्यलाई नजिकबाट अनुभूति गर्नुभएको थियो। यही अनुभवले उहाँलाई समाजसेवा र सार्वजनिक जीवनतर्फ प्रेरित गरेको बताइन्छ। बाल्यकालदेखि नै सामाजिक समस्याप्रति संवेदनशील स्वभाव भएकी उहाँले शिक्षा आर्जनसँगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको थियो।
सामाजिक सेवाबाट राजनीति यात्रा सुरु गर्नुभएकी सिद्धिकी आज संघीय संसदसम्म पुग्न सफल हुनुभएको हो। उहाँको यो सफलताले महिला सशक्तीकरण र अल्पसंख्यक समुदायको प्रतिनिधित्वलाई नयाँ उचाइमा पुर्याएको विश्लेषण गरिएको छ।सिद्धिकीले शपथ ग्रहणसँगै आगामी दिनमा दाङको समग्र विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका क्षेत्रमा प्रभावकारी पहल गर्ने अपेक्षा गरिएको छ। उहाँको संसदीय यात्रासँगै दाङवासीहरूमा विकास र समृद्धिको नयाँ आशा जागेको छ।










