२०८३ जेष्ठ ११ गते सोमवार

गायिका सम्झना लामिछाने संग झुमे घाेराहिका दर्शक

घोराही । दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ घोराहीमा भव्य र सभ्य रूपमा सञ्चालन भइरहेको छ। मेलाको आजको कार्यक्रममा चर्चित लोकदोहोरी गायिका सम्झना लामिछानेले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकलाई छमछमी नचाएकी छन्।
गायिका लामिछानेले फुलफुलेर पहेलै, बनैमा फुल बसायो, घरमा पराल बारिमा बन्सु लगायतका चर्चित गीत गाएर मेला परिसरलाई संगीतमय बनाइन्। उनको ऊर्जाशील प्रस्तुति र दर्शकसँगको घनिष्ठ सहभागिताले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो। यसैगरी चर्चित जादुगर राजेन्द्र गिरीले विभिन्न रोचक जादु कला प्रस्तुत गर्दै दर्शकलाई छक्क पारे जादु प्रस्तुतिमा दर्शकले तालि र हर्षध्वनिसहित उत्साहजनक प्रतिक्रिया दिएका थिए।
त्यस्तै, संसारकै होचो मान्छेका रूपमा परिचित मनोज गोर्खाली र अर्का होचो डोरबहादुर खपाङ्गी मगरको उपस्थितिले मेलामा थप रौनकता थपेको छ। उनीहरूसँग प्रत्यक्ष भेटघाट र तस्बिर खिच्न दर्शकको उल्लेखनीय भीड देखिएको थियो।
स्थानीय संस्कृति, कला र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको माघे मेलामा दैनिक दर्शकको उपस्थिति बढ्दो छ। कार्यक्रमहरू सभ्य, व्यवस्थित र भव्य रूपमा सञ्चालन हुँदै अघि बढिरहेको आयोजक अध्यक्ष बेद बहादुर बुढा मगरले बताएका छन्।

भोलि पौष २७ गते चर्चित गायक कुलेन्द्र विश्वकर्मा, गायिका सिर्जना खत्री, सोनी डान्स ग्रुप तथा गायिका संचिता बुढा मगरको विशेष प्रस्तुति रहने छ। सांस्कृतिक संयोजक गोपाल बुढा मगरका अनुसार कार्यक्रमको सञ्चालन तथा प्रस्तुति गायक तथा उद्‍घोषक माधव जोन खत्री र गायिका तथा उद्‍घोषक रुपा घर्ती मगरले गर्नेछन्।

प्रकाशित मिति : २०८२ पुष २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस