२०८२ मङ्सिर २ गते सोमवार

गुरुकुल एकेडेमी घोराहीको नयाँ प्रधानाध्यापकमा प्रदीप राजभण्डारी नियुक्त, शैक्षिक गुणस्तरका योजना थप गर्ने तयारी

घोराही ३० कार्तिक
गुरुकुल एकेडेमी घोराहीको प्रधानाध्यापकमा प्रदीप राजभण्डारी नियुक्त हुनुभएको छ। पूर्व प्रधानाध्यापक डा। कृष्णराज डिसिको तीन वर्षे कार्यकाल कार्तिक २८ गते सम्पन्न भएपछि संस्थाले नयाँ नेतृत्वका रूपमा राजभण्डारीलाई जिम्मेवारी दिएको हो। दिपशिखा बोर्डिङ स्कुलमा प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आउनुभएका राजभण्डारी शैक्षिक योजना, व्यवस्थापन र गुणस्तर सुधारका लागि सक्रिय व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। राजभण्डारीले २०६५ सालदेखि औपचारिक रूपमा अध्यापन यात्रा सुरु गर्नुभएको हो । माउन्ट भ्यु स्कुल र बाल विकास विद्यालयदेखि दिपशिखा स्कुलसमेत दर्जनभन्दा बढी प्रतिष्ठित विद्यालयमा अध्यापन गर्नुभएको उँहाले कक्षा शिक्षणदेखि लिएर विद्यालय व्यवस्थापनसम्मको उल्लेखनीय अनुभव बटुल्नुभएको छ।

सहायक प्रधानाध्यापक तथा शैक्षिक निर्देशक भएर काम गरिसक्नुभएका राजभण्डारीलाई संस्थाले अब नेतृत्व क्षमता र व्यवस्थापन सुझबुझका आधारमा गुरुकुलको नयाँ अध्याय सुरु गर्ने अपेक्षा राखिएको छ। २०४२ साल चैत्र २० गते जन्मिनुभएक भण्डारीले स्कुले शिक्षा माउन्ट भ्यु बोर्डिङबाट हासिल गर्नुभएको थियो। शैक्षिक यात्रा अघि बढाउँदै उँहाले उच्च शिक्षा भारतको बेङ्लोरबाट सम्पन्न गर्नुभएको हो। शैक्षिक पृष्ठभूमि, अनुभव र व्यावहारिक नेतृत्व क्षमताका कारण गुरुकुल एकेडेमीले राजभण्डारीबाट संस्थाको शिक्षण गुणस्तर, प्रशासनिक कार्यक्षमता र समग्र शिक्षण वातावरणमा सकारात्मक परिवर्तन हुने विश्वास व्यक्त गरेको छ।

नयाँ नियुक्त प्रधानाध्यापक राजभण्डारीले गुरुकुल एकेडेमीलाई शैक्षिक उत्कृष्टताको नमूना विद्यालयका रूपमा रूपान्तरण गर्न दीर्घकालीन कार्ययोजना अघि सार्ने तयारी गरेको विद्यालय स्रोतले जानकारी दिएको छ। उँहाले कक्षा १ देखि १० सम्म ‘सीख्दै–सिकाउँदै’ अभ्यासमुखी शिक्षा लागू गर्ने, प्रत्येक कक्षामा प्रोजेक्ट–भित्रीकृत अध्ययनलाई अनिवार्य बनाउने, र विद्यार्थीको सिकाइभन्दा व्यवहारिक जीवन सीपमा जोड दिने योजना अघि सार्नुभएको छ।

त्यसैगरी, शिक्षक क्षमता अभिवृद्धि कार्यक्रमलाई मासिक रूपमा निरन्तरता दिने, अभिभावकसँग नियमित संवाद बढाउने, प्रगतिशील मूल्यांकन प्रणालीलाई सुदृढ बनाउने तथा ग्रामीण र सीमान्तकृत विद्यार्थीलाई लक्षित सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना पनि उँहाले प्रस्तुत गर्नुभएको छ। विद्यालयमा डिजिटल क्लासरूम विस्तार, विज्ञान तथा भाषा प्रयोगशाला सुदृढीकरण र सह–पाठ्यक्रमहरूलाई व्यवस्थित रूपमा संचालन गर्ने प्रतिबद्धता समेत उँहाले व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस