२०८२ फाल्गुन ३० गते शनिवार

जेनजी प्रदर्शनमा २१ जनाको मृत्यु, ४२१ जना घाइते

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएको छ । उपत्यकाका विभिन्न अस्पतालबाट १९ जना र इटहरीमा २ जनाले ज्यान गुमाएका हुन् । ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ५ जना जनाको मृत्यु भएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये मृतक ५ जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौं कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौं वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो ।

अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएको छ । ४ सय २१ जना घाइते भएका छन् ।

सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरिसकेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस