२०८२ मङ्सिर १८ गते बुधवार

घोराहीमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक निषेध गरिदै

दाङ, ३० वैशाख ।
घोराही उपमहानगरपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा निषेध गर्ने भएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा निषेध गर्न थालेको हो । प्लास्टिक तथा प्लास्टिकका सामग्री सरकारले तोकेको मापदण्ड कार्यान्वनका लागि घोराही उपमहानगरपालिका अगाडि बढेको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्न २०७२ सालको वैशाख १ गतेदेखि लागु हुने गरी नियम बनाएको थियो । ‘हामीले सरकारले बनाएको मापदण्डलाई पालना गराउन अगाडि बढेका छौँ’, नगर प्रमुख चौधरीले, ‘साउनदेखि घोराहीमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा निषेध गर्छौँ ।’ प्लास्टिकको माइक्रोन परीक्षणका लागि मेसिनसमेत खरिद गरिएको नगर प्रमुख चौधरीले बताउनुभयो उँहाका अनुसार प्रत्येक पसलमा परीक्षण गरिने र मापदण्डविपरीत भए कारबाही गरिने प्रमुख चौधरीले बताउनुभयो ।

‘प्लास्टिकले वातावरण, स्वास्थ्यसँगै कृषकलाई समेत समस्यामा पारेको छ’, नगर प्रमुख चौधरीले भन्नुभयो, ‘त्यसैले प्लास्टिकको प्रयोग विस्तारै कम गर्दै जानुपर्छ र यसमा उपभोक्ता पनि सचेत हुनुपर्छ ।’ प्लास्टिकको प्रयोगको विकल्प अन्य वातावरणमैत्री वस्तु ल्याउनुपर्ने उँहाको भनाइ छ । प्लास्टिक निषेध गर्नुभन्दा पहिले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने घोराही उपमहानगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख मदन वलीले जानकारी दिनुभएको छ ।उपमहानगरपालिकाले १५ दिनसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उँहाले बताउनुभयो । सचेतनामूलक कार्यक्रमका लागि घोराहीका विभिन्न स्थानमा तीन वटा टोली परिचालन गरिने उँहाले बताउनुभयो । नारायणपुर क्षेत्रमा नगर प्रहरीको नेतृत्वमा स्वयम्सेवक गरी पाँच जना, घोराही बजारमा नगर प्रहरीको नेतृत्वमा स्वयम्सेवक गरी १० जना र रामपुर, गोग्ली बजार क्षेत्रमा नगर प्रहरीको नेतृत्वमा स्वयम्सेवक गरी पाँच जना गरिचालन हुने शाखा प्रमुख वलीले बताउनुभयो । मापदण्डविपरीत भएका प्लास्टिकको तथ्याङ्क सङ्कलन गर्ने, व्यवसायीलाई सचेत बनाउने काम गर्ने छन् । मापदण्ड विपरीतका प्लास्टिकका वस्तु प्रयोग गरेको पाइएमा साउनदेखि कारबाही गर्ने गरी तयारीलाई अघि बढाएको छ ।

अभियानबारे उद्योगी तथा व्यवसायीसँग छलफल भएको र यसमा सहयोग गर्ने उँहाले बताउनुभयो । प्लास्टिकजन्य सामग्री जलाउँदा उत्सर्जन हुने ग्यासले ओजोनतहमा विनाश गर्नुका साथै जलवायु परिवर्तनमा प्रतिकूल प्रभाव पर्ने गरेको बातावरणविद् बताउँछन् । वातावरणमा प्लास्टिक लामो समय रहँदा माइक्रो प्लास्टिकमा परिवर्तन हुन्छ र यो खाद्यवस्तुको स्रोत हुँदै मानव शरीरमा पुगेर हानी पु¥याउने वैज्ञानिक अध्ययनले देखाएको छ ।उपमहानगरपालिकाले बिक्री वितरण र प्रयोगमा प्लास्टिक रोक लगाउन पहिलो चरणमा सचेतनामूलक कार्यक्रमको शुभारम्भ गरेको छ । उपमहानगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखाले निषेधित पलास्टिकजन्य वस्तुहरू नियन्त्रण अभियानको एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरेको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, वडाध्यक्ष, वडासचिव, उद्योग वाणिज्य संघ, पलास्टिक व्यवसायी एवम् सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । सचेतना अभियान वैशाख २९ गतेबाट जेठ ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस