२०८३ बैशाख ८ गते मङ्गलवार

गुरुकुल एकेडेमी लमहीमा शिक्षकहरुको हस्तलेखन तालिम सम्पन्न

लमही ७ बैशाख
गुरुकुल एकेडेमी लमहीले आफ्ना शिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हस्तलेखन सम्बन्धी विशेष तालिम कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शिक्षकहरुलाई प्रभावकारी लेखन सीप विकास गर्ने लक्ष्य राखिएको थियो। कार्यक्रममा प्रशिक्षकको रुपमा गुरुकुल एकेडेमी घोराहीका अतिरिक्त विभाग प्रमुख विशालमान श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। उहाँले हस्तलेखन सुधारका विभिन्न विधि, अक्षरको संरचना, सन्तुलन तथा सफा र स्पष्ट लेखनका उपायहरुबारे प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा शिक्षकहरुलाई व्यवहारिक अभ्याससमेत गराइएको थियो, जसले उनीहरुको लेखन सीप अझ सुदृढ बनाउन सहयोग पुर्‍याएको छ।

कार्यक्रम गुरुकुल एकेडेमी लमहीका शैक्षिक निर्देशक विवेक देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै निर्देशक देवकोटाले शिक्षक सशक्तिकरण बिना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्नुभयो। उहाँले शिक्षकहरुमा दक्षता अभिवृद्धि गर्न यस्ता तालिमहरु निरन्तर आवश्यक रहेको बताउँदै, यसले प्रत्यक्ष रुपमा विद्यार्थिहरुको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।विद्यालयका अनुसार, विद्यार्थीहरुको लेखन सीपमा निखारता ल्याउनका लागि शिक्षकहरुलाई अझ सक्षम बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको हो। शिक्षकहरुको हस्तलेखन सुधार हुँदा विद्यार्थीहरुमा पनि स्पष्ट, सफा र आकर्षक लेखनको बानी विकास हुने अपेक्षा गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो। सहभागी शिक्षकहरुले तालिम उपयोगी र प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्। उनीहरुले आगामी दिनमा सिकेका सीपलाई कक्षाकोठामा प्रयोग गरी विद्यार्थिहरुको शैक्षिक गुणस्तर अझ उकास्ने प्रतिबद्धता व्यक्त गरेका छन्।यस प्रकारका तालिम कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस