दाङ १५ मंसिर
गुरुकुल एकेडेमी घोराहीका कक्षा ११ विज्ञान तथा ब्यबस्थापनसंकायका विद्यार्थी घोराही–१८ स्थित घोरदौरा क्षेत्रमा हाइकिङमा सहभागी भएका छन्। विद्यालयले शैक्षिक पाठ्यक्रमसँगै अनुभवजन्य शिक्षा र प्रकृतिसँगको नजिकबाटको सम्पर्कलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको हाइकिङ कार्यक्रम विद्यार्थीहरूका लागि अत्यन्तै उपयोगी तथा ज्ञानवर्धक विद्यालयका प्लस टु संयोजक राजन अधिकारीले जानकारी दिनुभयो ।
हाइकिङमा पुगेका विद्यार्थीहरूले घोरदौरा वरपर रहेका विभिन्न प्रजातिका बोटबिरुवाको प्रत्यक्ष अवलोकन गर्दै बहुमूल्य जानकारी प्राप्त गरेका छन्। वनस्पतिहरूको संरचना, जैविक महत्व, पर्यावरणीय सन्तुलनमा यसको भूमिका लगायतका विषयमा विद्यार्थीहरूले प्रकृतिबाटै सिकाइका महत्त्वपूर्ण पक्षहरू बुझ्ने मौका पाएका हुन्। हाइकिङ कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई सर्वाङ्गीण विकासका लागि आयोजना गरिएको संयोजक अधिकारीले बताउनुभयो ।“विद्यार्थीहरूमा एकाघरपन हटाई दिमाग प्रशस्त बनाउने, समूहमा काम गर्ने स्वभाव विकास गर्ने र सिकाइलाई किताबमा सीमित नराखेर प्रकृतिमा लैजाने हाम्रो मूल उद्देश्य हो,” संयोजक अधिकारीले भन्नुभयो।
यस हाइकिङ कार्यक्रममा ५२ जना विद्यार्थी तथा ३ जना शिक्षक गरी कुल ५५ जनाको टोलीले सहभागिता जनाएको थियो। शिक्षकहरू प्लस टु संयोजक राजन अधिकारी , सहायक प्रधानाध्यापक महेन्द्र पौडेल र शिक्षक जित बहादुर भन्डारीको उपस्थितिले विद्यार्थीलाई मार्गदर्शन तथा विभिन्न वनस्पति पहिचानमा सहयोग प्रदान गरेको विद्यालयले जनाएको छ। घोरदौराको प्राकृतिक सुन्दरताले विद्यार्थीमा उमंग थपिएको थियो। केही विद्यार्थीले यस किसिमको शैक्षिक भ्रमणले आफूहरूलाई विषयवस्तु बुझ्न र वातावरणसँग जोडिन सहजीकरण गरेको प्रतिक्रिया दिएका छन्। हाइकिङकै अवसरमा विद्यार्थीले साथीसँगको आत्मीयता, अनुशासन तथा समूहमा काम गर्ने क्षमतामा सुधार भएको अनुभूति व्यक्त गरेका छन्।
गुरुकुल एकेडेमीले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा, सिप र व्यावहारिक सीप विकासमा सहयोग पुग्ने खालका कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ। हाइकिङजस्तो अनुभव आधारित सिकाइ प्रवृत्तिले विद्यार्थीलाई केवल ज्ञानवान मात्र नभई जीवनघटना बुझ्न सक्ने जिम्मेवारीवान बनाउँदै लैजाने विद्यालयको विश्वास छ।











