केहि समयको अन्तर पछि सविन प्रियासनको कालो मन नामक उपन्यास पढ्ने संयोग बस मौका मिल्यो । परिचयको क्रममा उहाँलेनै यो उपन्यास मलाई आफ्नो परिचय स्वरुप उपहार दिनुभएको थियो । उहाँको यो १२ औ उपन्यास रहेछ । उपन्यास पढ्न मनपराउने मान्छे परे । त्याएकै भोलीपल्ट देखि नै पढ्न थाले । यो उपन्यास पढ्न रमाइलो लाग्यो । पढ्दै जाँदा अब के हुन्छ होला भन्दै पढिरहँु जस्तो लाग्यो । उहाँका अघिल्ला पुस्तहरु मैले पढेको छैन । तर, यो उपन्यास पढेपछि अघिल्ला पुस्तकहरु पनि पढ्ने चाहना भने अवश्य रहेको छ ।
यो उपन्यास एउटा गाउँको किसान परिवारको एक युवा जसको जीवनको संघर्ष समाज र परिवारको अन्धविश्वासका कारण बोझिलो बनेको छ तर पनि समायानुसार आधुनिक प्रविधिबाट कृषि खेती गर्ने सपना बोकेको छ र जमीनदार खलकमा हुर्केकी डाक्टर बन्ने चाहना बोकेकी एक युवती जो जन्मदैवाट टाउकोमा विस्तारामा पर्नुभएकी आमाको विराम र परिवारका दुई सदस्यको मुत्युको कारणको बोझ बोकेकी एक युवती र उसको मानसीक स्थिती, समाज र साथीभाइले गर्ने व्यवहारको चित्रण गरिएको छ भने उनीहरु दुइ बीचको पे्रम कथा र जीवनको लक्ष्य प्राप्तीका संघर्षमा आधारित छ । दुवैको लक्ष्य भने आ– आफ्नो क्षेत्रबाट समाज सेवा गर्ने र परिवारको खुशी, विशेषत युवतीको लागि आमाको उपचार गरी पहिले जस्तै बनाउने रहेको छ । यी दुवै जना समाजको रुढिवादी र अन्धविश्वासको शिकार बनेका छन् ।
उपन्यास आजको समयको सामाजिक परिपाटिमा लेखिएको छ जसमा फेसबुक र म्यासेन्जरको कुरा गरिएको छ भने कोभिडको संक्रमण पछि देशको आर्थिक अवस्थाको पनि जिकिर गरिएको छ । भनाइँको तात्पर्य आजको युगको उपन्यास भएतापनि परिवारको अन्धविश्वास र रुढिवादीको भुमरिमा फसेका युवायुवतीको जीवनको संघर्षको वारेमा लेखिएको छ । यो पढ्दा आश्चर्यजनक पनि लाग्छ आजको युगमा पनि मान्छेहरु यतीसम्म अन्धविश्वासको जालोमा फसेका छन् र ? तर यो उपन्यासको वास्तविकता समाजमा बसेका जान्ने बुझेका भनाउँदा ढोँगीहरुले नै यस्तो जालो बुनिरहेको छन् ।
उपन्यास पढ्दा लाग्यो जीवनमा उस्तै उस्तै परिस्थितीको सामना गर्नेहरुले नै एक अर्काको मनको भावना सही अर्थमा बुझ्ने गर्छन भने उनीहरु बीचको मित्रता र प्रेम साँचो र सही अर्थमा सफल हुनेछ । यो उपन्यासमा दर्शाएको जस्तो निस्वार्थ प्रेम जुन बाहिरी आवरणमा कत्ति पनि आशक्ति छैन जो मर्यादित र सम्मानित छ जसले मनको सुन्दरतालाई मात्र महसुस गर्छ या भनौँ सुन्दरताको पछाडी माया हैन मायाको पछाडी सुन्दरता देख्छ । उपन्यासले एउटा यस्तो संदेश दिन्छकी यस्तो मायाले संसारलाई परिवर्तन गर्न सकिन्छ । नकारात्मतालाई पनि सकारात्मतामा रुपातन्तरण गर्न सकिन्छ ।
पढ्दा यस्तो लाग्छ, उपन्यासमा दर्शाएको जस्तो त्यो निस्वार्थ प्रेम के साच्चै यथार्थ जीवनमा पनि हुन्छ होला र ? यदि यस्तो भएमा संसारमा कोही कसैको वैरी हुँदैनथ्यो होला । प्रेमको यति सुन्दर चित्रण पढ्दा मात्र पनि आनन्द महसुस हुन्छ ।
उपन्यासमा आधुनिक कृषि खेती सम्बन्धि निकै जानकारी लेखिएको छ, जसले खेती किसानी गर्नेहरुलाई पनि यो पुस्तक केही हदसम्म सहयोगी बन्न सक्छ । शहर बजार देखि गाउँघरमा समेत सानो ठाउँमा पनि
तरकारीहरु फलाउन सकिने उपाएको खोजी उपन्यासमा गरिएको छ । जसबाट हामी सबैले घरमै गमलामा आफूलाई पुग्ने र व्यवसायीक
तरकारी उत्पादन गर्न सक्ने बाटो देखाइएको छ ।
उपन्यास पढ्नु भन्दा अघि किन होला यो पूस्तकको नाम नै कालो मन राखेको भन्ने लागेको थियो । कालो भन्नेवित्तिकै अध्याँरो कता–कता नकारात्मता भरिएको जस्तो लाग्छ तर उपन्यास पढ्दै जाँदा बुझे यो तपाइ हामी भित्र नै भएका मनहरुको व्याख्या गरिएको रहेछ । भनिन्छ हरेक मान्छेको मनमा सकारात्मता र नकारात्मकता दुवै हुन्छ । कुन मनलाई आफुभित्र हावी हुन दिने वा नदिने भन्ने हाम्रै नियन्त्रणमा रहेको हुन्छ । पूर्णरुपले मन परिवर्तन नहुँदासम्म मान्छेभित्र रहेका अहंकार, दम्भले सधैभरी दुष्परिणम नै निकाल्छ भन्ने कुरा यसमा दर्शाएको छ ।
अन्तमा, यो उपन्यास पढ्दा यस्तो लाग्छ सबैले सकारात्मता सोच राख्ने हो भने यो संसार कति सुन्दर, प्रेममय अनि शान्तिले भरिपूर्ण हुन्थ्यो होला । सकारात्मताको जहिले जित हुन्छ भने नकारात्मक सोच अथवा कालो मन हुनेहरुको अन्त्यमा हार निश्चित छ ।
अन्तमा उपन्यासकार एवं पत्रकार सविन प्रियासनको कालो मन उपन्यास पढेपछि भन्न मन लाग्यो ः–
कालो मनको उज्यालो आँसु
गाउँको धुलोमा लड्दै–बढ्दै
एउटा युवकको मन रुँदै हाँस्छ,
उसको सपना माटोमै गाडिएको छ,
तर आँखामा अझै बत्ती बलिरहेछ ।
उता शहरको अस्पतालको बरण्डामा
एउटी युवतीले आमाको हात समातेकी छे
टाउकोमा बोकेकी छ बिस्ताराको बोझ
र, आँखामा बोकेकी छ मायाको भारी ।
दुवैको मन कालो छैन
तर कालोले घेरेको छ जीवन,
फेसबुकमा होइन, म्यासेन्जरमा होइन,
आँसुले लेखिएका सन्देशमा भेटिए उनीहरू ।
जब उसले भन्यो– “म तिमीलाई डाक्टर बनाउँछु”
उनले भनिन्– “म तिमीलाई किसान बनाउँछु”
त्यही क्षण कालो मन फुट्यो
र, त्यहाँबाट उज्यालोको नदी बग्यो ।
मायाको नाममा शारीर होइन
उनीहरूले एकअर्काको घाउ छोए
आमाको बिरामी शरीरलाई उसले
आफ्नो माटोको सुगन्धले छोयो ।
आँसुले लेखिएको प्रेम कहिल्यै मेटिँदैन,
जबसम्म एउटा मन अर्को मनको लागि धड्कन्छ,
त्यो धड्कनले भन्छ–
कालो मन पनि एक दिन
सेतो फूल बनेर फुल्छ ।
सविन प्रियासनको पानामा
मैले आफैंलाई भेटेँ
र, रुँदै–रुँदै मुस्कुराएँ
किनकि कालो मनको अन्त्यमा
सधैं प्रेमले जित्छ भन्ने
मलाई आज फेरि थाहा भयो ।
(काठमाडौं)











