२०८२ असोज २७ गते सोमवार

जेन्जी आन्दोलनमा क्षति पुगेको ट्राफिक कार्यालयलाई गुरुकुल एकेडेमीको सहयोग

घोराही ६ असोज
दाङको घोराही १५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले जेन्जि आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ घोराहीलाई विभिन्न सामग्री सहयोग प्रदान गरेको छ। भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा कार्यालयको भौतिक संरचना ध्वस्त भएपछि कार्यालय सञ्चालनमा कठिनाई भएको अवस्थामा विद्यालयले करिब ८० हजार रुपैयाँ बराबरका सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो।

विद्यालयका प्रधानाध्यापक डा। कृष्णराज डिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुखलाई एक थान प्रमुख टेबल, एक थान कार्यालय टेबल, एक थान कार्यालय दराज, पाँच थान सिलिङ पंखा, दश थान कुर्सी, एक थान भित्ते घडी र एक थान ऐना हस्तान्तरण गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा घोराही उपमहानगरपालिका–१५ का वडाअध्यक्ष रमेशकुमार पाण्डे र विशिष्ट अतिथिका रूपमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेल उपस्थित रहनुभएको थियो। वक्ताहरूले सामाजिक जिम्मेवारीअनुसार अगाडि बढ्दै आएको गुरुकुल एकेडेमीले सार्वजनिक संस्था र समुदायको आवश्यकता अनुसार सहयोग गरेको भन्दै प्रसंसा गरेका थिए।

कार्यक्रममा वडाअध्यक्ष पाण्डेले शैक्षिक संस्था मात्र नभई सामुदायिक उत्तरदायित्वमा पनि गुरुकुल एकेडेमीले उदाहरणीय काम गरेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरेका थियो । त्यस्तै, विपुल पोखरेलले शिक्षा क्षेत्रले समाजप्रति संवेदनशील र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै गुरुकुलको पहल अन्य संस्थाका लागि प्रेरणादायी हुने बताउनुभयो। सहयोग हस्तान्तरण कार्यक्रमको सहजिकरण विद्यालयका प्रेस संयोजक दीपक वलीगर्नुभएको थियो।कार्यक्रममा विद्यालयका संचालक समिति सदस्य रुपक थापा , प्लस टु संयोजक राजन अधिकारी , परीक्षा संयोजक विबेक देबकोटा र समाजसेवि युवा ब्यबसायि इन्द्र कुमार वलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस