२०८२ चैत्र २८ गते शनिवार

दाङमा कलाकारका परिवारलाई अध्ययन शुल्कमा छुट दिने

१६ भदौं, घोराही

दाङमा आर्थिक अवस्था कम्जोर भएका लोकदोहोरी कलाकार एवं कलाकारका परिवारलाई अध्ययन गर्न ५० प्रतिशतसम्म छुटदिने विषयमा सहमति भएको छ । घोराही १८ पुलचोकमा रहेको ग्यालेक्सी एकेडेमी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङबीच आर्थिक अवस्था कमजोर भएको कलाकारको परिवारलाई कक्षा १२ सम्म अध्ययनमा छुट दिने विषयमा सात बुँदे सहमति भएको छ ।

ग्यालेक्सी एकेडेमीका तर्फबाट प्रिन्सिपल गोपाल प्रसाद भुसाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर बुढाथोकी र प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । विद्यालयमा अध्ययन गर्न आउने कलाकार, वाद्यवादक र प्राविधिकका परिवारलाई एकेडेमीले आर्थिक अवस्था हेरेर ५० प्रतिशतसम्म छुट दिने र ४ जनालाई निःशुल्क भर्ना दिने व्यवस्था गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले कला, संस्कृति तथा कलाकारको संरक्षण र सम्बद्र्धनका लागि विद्यालयको सहयोग रहने बताउनुभयो । कम्जोर आर्थिक अवस्थाका कारण शिक्षा हासिल गर्न अप्ठ्यारोमा परेका विद्यार्थीलाई सहमतिपत्रका आधारमा सहयोग रहने उहाँको भनाई थियो । त्यसैगरी प्रतिष्ठान दाङका अध्यक्ष दाहालले एकेडेमीले कलाकारका लागि सकारात्मक सोचिदिएकोमा हार्दिक आभार प्रकट गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस