दाङ २१ कार्तिक
गुरुकुल एकेडेमीले विद्यार्थिहरूमा अन्तर्राष्ट्रिय संस्थाको कार्य प्रणाली र विश्व राजनीतिप्रतिको बुझाइ अभिवृद्धि गर्न उद्देश्यका साथ “नमुना संयुक्त राष्ट्रसंघ महासभा (Model United Nations)”कार्यक्रम सम्पन्न गरेको छ। घोराही, तुलसिपुर र लमहीस्थित गुरुकुल एकेडेमीका शाखाहरूमा एकैसाथ सम्पन्न उक्त कार्यक्रममा करिब २० वटा देशको प्रतिनिधित्व विद्यार्थिहरूद्वारा गरिएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरू संयुक्त राष्ट्रसंघका विभिन्न सदस्य राष्ट्रका प्रतिनिधि बनेर विश्व शान्ति, वातावरणीय संकट, मानव अधिकार, शिक्षा र आर्थिक विकासजस्ता विषयमा छलफलमा उत्रिएका थिए। उनीहरूले सम्बन्धित देशको दृष्टिकोण प्रस्तुत गर्दै आपसी संवाद, प्रस्ताव तथा निर्णय प्रक्रियाको अभ्यास गरे।विद्यालयका अनुसार, नमुना महासभाको उद्देश्य विद्यार्थीहरूलाई संयुक्त राष्ट्रसंघको कार्यप्रणाली, निर्णय प्रक्रियाको महत्त्व र कूटनीतिक व्यवहारबारे व्यावहारिक ज्ञान दिलाउने हो। यस किसिमका अभ्यासहरूले विद्यार्थीहरूमा नेतृत्व, वक्तृत्व, विश्लेषणात्मक सोच र सहकार्य भावना विकास गर्न सहयोग पुग्ने विद्यालयका शिक्षकहरूले बताएका छन्।
गुरुकुल एकेडेमीले यसअघि पनि विद्यार्थीहरूलाई राजनीतिक प्रणाली बुझाउन प्रत्येक वर्ष असोज ३ गते “नमुना संसद्” कार्यक्रम आयोजना गर्दै आएको छ। विद्यालयले आगामी दिनमा यस्ता शैक्षिक र नेतृत्व विकासका कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाउने जनाएको छ।कार्यक्रमको सफलताका लागि विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासन सबैले सक्रिय भूमिका खेलेका थिए। सहभागी विद्यार्थीहरूले यस्तो कार्यक्रमले अन्तर्राष्ट्रिय मञ्चमा बोल्ने आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन्।











