दाङ २६ जेष्ठ
हालै सम्पन्न यू–१४ राष्ट्रिय बास्केटबल प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो स्थान हासिल गर्न सफल भएको छ। लुम्बिनीले निर्णायक खेलमा बाग्मती प्रदेशलाई ९–७ को अंकले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो। उक्त प्रतियोगितामा दाङस्थित गुरुकुल एकेडेमीका तीन खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो। गुरुकुल एकेडेमीबाट खेलाडिहरु कमल जिएम, बिभान बस्नेत र सद्गुन थापा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएका थिए। उनीहरूको उत्कृष्ट खेल कौशल र समर्पणले टोलीलाई सफलता हासिल गर्न महत्वपूर्ण योगदान पुर्याएको गुरुकुल एकेडेमीले जनाएको छ।
गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिका अनुसार, यस स्तरमा यति ठूलो राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउनु र पदक जित्नु खेलाडीहरूका लागि मात्र नभई सम्पूर्ण प्रदेशका लागि गौरवको विषय हो। प्रतियोगिताले देशभरका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको छ भने आगामी दिनमा अझ ठूला मञ्चमा सफल हुने सम्भावना बोकेका खेलाडीहरू पहिचान गर्न सहयोग पुगेको आयोजक संस्थाले जनाएको छ।
गुरुकुल एकेडेमीले आगामी दिनमा पनि यस्ता खेल गतिविधिमा निरन्तर सहभागी भई खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको बताएको छ। गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले खेलाडीहरूलाई बधाई दिँदै हाम्रो विद्यालयले खेलकुदलाई शिक्षा सरह महत्त्व दिएर अगाडि बढ्दै आएको बताउनुभयो। यस उपलब्धिले हाम्रो रणनीतिक लगानीको पुष्टि गरेको छ। राष्ट्रिय स्तरमा पनि विद्यार्थीहरूले सफलता प्राप्त गर्ने विश्वास संगै प्रतियोगितामा होमिएका विद्यार्थिहरु लुम्बिनि प्रदेशको नेतृत्व गर्दै सफल भएकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । यू–१४ राष्ट्रिय बास्केटबल प्रतियोगिता काठ्मान्डौको दशरथ रंगशालामा भएको थियो ।










