
तुलसीपुर, दाङ
दाङ जिल्लाको शैक्षिक केन्द्रका रूपमा विकास हुँदै गएको तुलसीपुरमा हालैका दिनहरूमा एक नयाँ शैक्षिक संस्था ‘गुरुकुल एकेडेमी’ चर्चा र विश्वासको केन्द्र बन्दै गएको छ । शैक्षिक सत्र २०८१ सालदेखि सञ्चालनमा आएको यो विद्यालयले छोटो समयमै उल्लेखनीय प्रगति गर्दै आफ्ना शैक्षिक गतिविधिहरू र शुद्ध शैक्षिक वातावरणको कारणले अभिभावक, विद्यार्थी र शिक्षा प्रेमीहरूको ध्यान आकर्षित गरेको छ । गुरुकुल एकेडेमीले सुरुमा जम्मा १७० जना विद्यार्थीबाट आफ्नो यात्रा थालेको थियो। अत्यन्त सीमित स्रोत, भौतिक संरचना र कर्मचारीसहितको थालनी भए तापनि विद्यालयको शैक्षिक उद्देश्य भने अत्यन्त स्पष्ट थियो— गुणस्तरीय, समावेशी र व्यवहारमुखी शिक्षा दिनु । यही उद्देश्यलाई आत्मसात गर्दै विद्यालयले पहिलो वर्षदेखि नै अनुशासन, शिक्षण विधिको सुधार, शिक्षक तालिम, विद्यार्थीमा नैतिक मूल्य र व्यावहारिक सीप विकासमा केन्द्रित कार्यहरू अगाडि बढायो । आज, केही महिनामै विद्यालयमा थप १५० जना विद्यार्थी भर्ना भइसकेका छन्, जसले गर्दा हाल विद्यार्थी संख्या ३२० पुगेको छ । यो वृद्धिले मात्र विद्यार्थीको चासो होइन, विद्यालयप्रतिको समाजको विश्वास र सन्तुष्टिको सूचक हो ।
उत्कृष्ट नतिजाः कक्षा ८ मा शतप्रतिशत सफलताको उपलब्धि
विद्यालयको हालै प्रकाशित कक्षा ८ को नतिजा विद्यालयको शैक्षिक स्तरको उत्कृष्ट प्रमाण बनेर आएको छ । यस परीक्षामा सहभागी भएका सबै विद्यार्थी सफल भएका छन् भने अधिकांश विद्यार्थीहरू उत्कृष्ट ग्रेडसहित उतीर्ण भएका छन् । विद्यालय संयोजक चिन्तना धितालका अनुसार, “विद्यार्थीहरूलाई सुरुदेखि नै पठन–पाठनमा अनुशासित, नियमित र प्रोत्साहन दिने वातावरण तयार गरियो । शिक्षकहरूको मेहनत, विद्यार्थीहरूको लगन र अभिभावकको सहकार्यले गर्दा हामी यस्तो नतिजा ल्याउन सफल भएका हौं।”संयोजक धितालले भन्नुभयो । विद्यालयले नियमित गृहकार्य अनुगमन, साप्ताहिक टेस्ट, मासिक मूल्याङ्कन, अभिभावक–शिक्षक संवाद कार्यक्रम, र मनोवैज्ञानिक परामर्श जस्ता गतिविधिहरूमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिएको छ ।अविद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीका अनुसार, “गुरुकुल एकेडेमी केवल किताब पढाउने स्थान होइन, यो एउटा शैक्षिक परिवार हो । हामी विद्यार्थीलाई केवल परीक्षा पास गराउने होइन, जीवन जिउन सक्ने नागरिक बनाउन चाहन्छौं। त्यसका लागि हामीले पाठ्यक्रमसँगै व्यवहारिक ज्ञान, सिर्जनात्मकता, नेतृत्व क्षमता, नैतिकता र आत्मविश्वासलाई पनि समान महत्व दिएका छौं।” उहाँले थप भन्नुभयो, “सुरुवातमा हामीसँग सीमित संरचना थियो, तर योजनाबद्ध रूपमा सुधार गर्दै लयमा ल्याइरहेका छौं। अहिले हामीसँग स्तरीय कक्षाकोठा, पुस्तकालय, कम्प्युटर ल्याब, खेलमैदान, र डिजिटल शिक्षण सामग्रीको पहुँच छ। निकट भविष्यमा विज्ञान प्रयोगशाला र अतिरिक्त क्रियाकलाप केन्द्र विस्तार गर्ने तयारीमा छौं।”
भौतिक संरचना र प्रविधिमैत्री शिक्षा
गुरुकुल एकेडेमीले प्रारम्भदेखि नै प्रविधिमैत्री शिक्षा प्रणालीलाई प्राथमिकता दिएको छ। स्मार्ट बोर्डसहितको डिजिटल शिक्षण प्रणाली, अनलाइन टेस्ट प्रणाली, अभिभावकलाई कmक र यलष्लिभ माध्यमबाट नतिजा जानकारी दिने सुविधा जस्ता प्रविधिहरूको प्रयोगले विद्यालयमा आधुनिक शिक्षणको विकास भएको छ । पुस्तकालयमा विद्यार्थीहरूलाई पाठ्यक्रमबाहिरका पुस्तकहरूसमेत पढ्न प्रेरित गरिन्छ । कम्प्युटर प्रयोगशालामा बालबालिकाले इमेल चलाउने, पावरपोइन्ट बनाउने, बेसिक कोडिङ सिक्ने जस्ता व्यवहारिक सीप सिकिरहेका छन्।
अभिभावकहरूको प्रतिक्रिया
विद्यालयको शैक्षिक वृद्धि र सफलताले अभिभावकहरूको मन जित्न सफल भएको छ । विद्यालयका अभिभावक ललीता शाहि ले भनिन्, “मैले छोरीलाई गत वर्ष मात्र गुरुकुलमा भर्ना गरें। उसमा आएको आत्मविश्वास, समय व्यवस्थापन, र अंग्रेजी बोल्ने शैली देखेर म एकदमै सन्तुष्ट छु।” यस्तै अर्का अभिभावक निपुण सुनार भन्नुहुन्छ, “गुरुकुलले साँच्चिकै शिक्षक–विद्यार्थी–अभिभावक त्रिकोणीय सम्बन्धलाई ध्यानमा राखेर काम गरिरहेको छ। विद्यालयले शिक्षालाई मात्र होइन, संस्कार र नेतृत्व विकासमा पनि काम गरिरहेको अनुभव मैले गरेको छु ।
आगामी योजना र दिगो विकास
गुरुकुल एकेडेमीले शिक्षा मात्र होइन, विद्यार्थीकै लागि सुरक्षित, प्रेरणादायी र समावेशी वातावरण निर्माणमा पनि ध्यान दिइरहेको छ। विद्यालयले विद्यार्थीहरूलाई समाजसेवा, स्वच्छता अभियान, वातावरणीय सचेतना कार्यक्रम, भाषण प्रतियोगिता, सांस्कृतिक कार्यक्रम लगायतका अतिरिक्त गतिविधिमा संलग्न गराउँदै आएको छ । विद्यालयका प्रधानाध्यापक गिरीका अनुसार, “निकट भविष्यमा हामी विज्ञान संकाय तथा ब्यबस्थापन संकाय लगाय अन्य बिधामा कक्षा १२ सम्म बढाउने, र राष्ट्रिय स्तरको प्रतियोगिता तथा शैक्षिक कृयाकलाप र सम्मेलनहरूमा विद्यार्थीलाई सहभागी गराउने योजना बनाइरहेका छौं। हाम्रो दीर्घकालीन लक्ष्य भनेको गुरुकुललाई एक ‘मोडेल स्कूल’ को रूपमा स्थापित गर्नु हो।”
गुरुकुल एकेडेमी, तुलसीपुर,दाङले छोटो समयमै हासिल गरेको सफलता केवल संख्यात्मक वृद्धिमा सीमित छैन, यो गुणात्मक रूपमा शैक्षिक रूपान्तरणको यात्रामा हो। विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावक, र समुदायलाई जोड्दै उत्कृष्टताको नमुना प्रस्तुत गर्दैछ। आजको दिनमा विद्यालयले जुन शैक्षिक वातावरण, सहकार्यको भावना र नवीन शिक्षण अभ्यासहरू अघि सारेको छ, ती अभ्यासहरू नेपाली शिक्षाको क्षेत्रमै उदाहरणीय बन्न सक्ने सम्भावना बोकेका छन्। यदि यस्तै गतिमा विद्यालयले आफ्नो उद्देश्यमा केन्द्रित रही अघि बढ्न सक्यो भने, गुरुकुल एकेडेमी निकट भविष्यमै प्रदेशस्तरमै मात्र होइन, राष्ट्रिय स्तरमै चर्चित शैक्षिक संस्थाको रूपमा स्थापित हुनेमा कुनै शङ्का छैन ।