२०८२ जेष्ठ ३ गते शुक्रवार

मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय अध्यक्षमा हारुन हलवाई र महिला उपाध्यक्षमा दाङकि साजिदा सिद्दिकि निर्वाचित

नेपालगन्ज,२१ बैशाख
नेपालगन्जमा सम्पन्न भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनले बाँकेका मोहम्मद हारुन हलवाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

हलवाईको अध्यक्षतामा सर्वसम्मतरुपमा निर्वाचित भएको सङ्गठनको नयाँ कार्यसमितिको उपाध्यक्षमा तैयब हुसैन, महिला उपाध्यक्षमा सजिदा सिद्दिकी र महासचिवमा राज मोहम्मद अन्सारीलाई चयन गरिएको छ । सोही प्रकारले उपमहासचिवमा जबुल मियाँ र सचिवहरुमा अब्दुल करिम खान, सुलेमान मियाँ, हलिम खान र रियासत अलिसहित केन्द्रीय सदस्यहरु गरेर ६५ सदस्यीय समितिको चयन गरिएको मुस्लिम इत्तेहाद सङ्गठनले जनाएको छ ।

केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा पूर्व अध्यक्ष तथा सांसद सेराज अहमद फारुकीलाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि शनिवार शुरु भएको सो महाधिवेशनको उदघाटन नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले गर्नुभएको थियो ।

देशभरिबाट ६०० बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको सो सम्मेलनले नयाँ कार्य समिति निर्वाचन गर्नुका साथै विभिन्न अन्य निर्णयहरु पनि गरेको र ती निर्णय पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ ।

मुस्लिम इत्तेहाद संगठनका नवनिर्वाचित अध्यक्ष हारुन हलवाइले संगठनले देशभरिका मुस्लिम समुदायलाई संगठनभित्र गोल बन्द गर्ने र गणतन्त्र तथा धर्म निरपेक्षतासंगै धार्मिक तथा सामाजिक सदभावको सुदृढीकरणका लागि काम गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस