२०८१ चैत्र ९ गते आइतवार

दाङको जन्ती ढुङ्गामा पर्यटक पुग्ने क्रम बढ्दै

दाङ, १५ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा रहेको जन्ती ढुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । दाङ र तुई उपत्यका क्षेत्रका मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले जन्ती ढुङ्गा क्षेत्र पर्यटकको रोजाईमा परेको हो । दाङ र तुइ उपत्यकाको सिमानामा जन्ती ढुङ्गा पर्छ । तुलसीपुर उपमहानगरालिका–१३ मा पर्ने यो क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आर्कषणको केन्द्र बन्न थालेको छ । झाँक्री ढुङ्गा सामुदायिक वनमा पर्ने जन्ती ढुङ्गा क्षेत्रमा विभिन्न आकृतिका ढुङ्गाहरू लहरै रहेका छन् । चार वर्ष अघिमात्रै यो क्षेत्र पहिचानमा आएको थियो ।

पहिचानसँगै प्रचारप्रसारको काम सुरु भए पनि खासै चर्चा पाउन नसकिरहेको अवस्थामा अहिले स्थानीय सरकारको चासो बढेपछि आन्तरीक तथा वाह्य जिल्लाका पर्यटकहरू जन्ती ढुङ्गा आउने क्रम बढेको छ । जन्ती ढुङ्गासम्म पुग्ने बाटो सहज बनाउन सकिए, स्थानीयलाई आर्थिक आयआर्जनमा जोड्न सकिन सम्भावना छ । जस अनुसार होलेरी–भोजपुर हुँदै सिमलसोता जोड्ने सडकखण्डअन्तर्गत अहिले तुलसीपुर–१४ को ड्वाङपुर र तुलसीपुर–१३ को रनियापुरबाट सडक स्तरोन्नतिको काम भइरहेको छ । तर पनि जन्ती ढुङ्गा क्षेत्रको संरक्षणमा गर्नु पर्ने थुप्रै कामहरू बाँकी रहेको तुलसीपुर–१२ का सविन चौधरीले बताउनुभयो ।

दाङसहित छिमेकी जिल्ला सल्यान र रोल्पाबाटसमेत सार्वजनिक विदा र अन्य दिनहरूमा घुम्न आउने पर्यटकहरूको सङ्ख्यासमेत बढ्दै गएको छ । पर्यटकको चहलपहल बढ्न थालेपछि तुलसीपुर उपमहानगरालिका वडा नम्बर १३ ले जन्ती ढुङ्गाको संरक्षणका लागि चारैतिर तारबार गरेको छ । जहाँ हरेक वर्षको महाशिवरात्रीमा मेला लाग्ने गर्छ । जन्ती ढुङ्गा क्षेत्रलाई दाङको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको वडा अध्यक्ष मोहन पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस