
काठमाडौं । इजरायली सेनाले उत्तरी गाजाको एक सहर लक्षित आक्रमण गर्दा ४८ घण्टामा ५० बालबालिकाको मृत्यु भएको युनिसेफले जनाकारी दिएको अलजजिराले लेखेको छ । इजरायली आक्रमणका कारण उत्तरी गाजामा रहेको जनसंख्या मृत्युको डिलमा पुगेको बताइएको छ । आक्रमणका बीच पुनः उत्तरी गाजामा हिजोबाट पोलियो खोप लगाउन सुरु भएको छ । यसैबीच इजरायली सेनाले उत्तरी लेबनानी सहर ब्याट्रोनमा हिजबुल्लाहका एक वरिष्ठ सदस्यलाई अपहरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।इजरायली नौसेना बलले उत्तरी लेबनानी सहर ब्याट्रोनस्थित एक भवनबाट हिजबुल्लाहका एक वरिष्ठ सदस्यलाई अपहरण गरी इजरायलतर्फ लगेको हुन् ।
इजरायली सेनाका एक वरिष्ठ अधिकारीले आफूहरुले विशेष अपरेसनको एक भागको रूपमा हिजबुल्लाह सदस्यलाई इजरायली क्षेत्रमा लगेको बताए । हिजबुल्लाहले इजरायली सेनाको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन। अज्ञात सैन्य बलहरूले बिहानै समुद्र तट नजिकैको एउटा भवनमा छापा मारेको र भवनबाट बाहिरिने क्रममा उनीहरूले एक व्यक्तिलाई समातेर स्पीडबोटको सहायताले इजरायलतर्फ लगेको लेबनानको सरकारी मिडियाले उल्लेख गरेका छन् ।
उक्त घटनापछि लेबनानी प्रधानमन्त्री नजिब मिकातीको कार्यालयले परराष्ट्र मन्त्रालयलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्मा उजुरी गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार लेबनानी सेना र संयुक्त राष्ट्र शान्ति सेना युनिफिल दुवैले इजरायली नौ सेना बलले छापा मारेको विषयमा अनुसन्धान गरिरहेका छन्। लेबनानका यातायात मन्त्री अली हामिदका अनुसार इजरायली नोसेनाद्वारा गरिएको कार्य संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ को उल्लङ्घन हो । इजरायली सेनाले लेबनानमा हवाई तथा स्थलगत आक्रमण भने जारी राखेको छ । इजरायली सेनाले लेबनानको दक्षिण बेरुतमा हिजबुल्लाह समूह लक्षित गरेको आक्रमणमा कम्तिमा ११ जना घाइते भएको बताइएको छ। हिजबुल्लाहले समेत इजरायलतर्फ निरन्तर रकेट आक्रमण गरिरहेको छ ।