२०८१ चैत्र ९ गते आइतवार

भारतको राजधानी नयाँ दिल्लीमा आज वायु प्रदूषण उच्च , नेहरू नगरमा ४ सय ५० एक्यूआई रेकर्ड

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज वायुको गुणस्तर ‘गम्भीर’ श्रेणीमा पुगेको छ । प्रत्येक वर्ष जस्तै जाडो मौसम सुरु भएसँगै यस पटक पनि दिल्लीमा वायु प्रदूषणको समस्या यथावत छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको तथ्यांक अनुसार दिल्लीको नेहरू नगरको हावामा सबैभन्दा बढी प्रदूषण देखिएको छ ।

बिहान १० बजेसम्मको तथ्यांक अनुसार नेहरू नगरमा ४ सय ५० एक्यूआई रेकर्ड गरिएको छ । जसलाई हावाको गुणस्तरको ‘गम्भीर’ स्तर मानिन्छ । नेहरू नगर बाहेक, दिल्लीको आनन्द विहार, अशोक विहार, पञ्जाबी बाग र रोहिणीमा वायु गुणस्तर अर्थात् एक्यूआई ४ सय माथि रेकर्ड गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यी क्षेत्रहरू बाहेक, दिल्लीका धेरैजसो क्षेत्रमा तीन सय देखि ४ सयको बीचमा रेकर्ड गरिएको छ । जसलाई हावाको गुणस्तरको ‘धेरै खराब’ स्तर मानिन्छ। वायु प्रदूषणका कारण दिल्लीका स्थानीय बासिन्दालाई सास फेर्न गाह्रो हुने जस्ता समस्या पनि देखा परेको बताइएको छ ।

वायु प्रदूषणका कारण दिल्ली वासीलाई सास फेर्न धेरै गाह्रो हुनुका साथै आँखामा जलन समेत हुने गरेको एक स्थानीयलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । यसैबीच काठमाडौँको वायु प्रदूषणको आठौँ स्थानमा रहेको एक्यूआई इनडेक्सले देखाएको छ । आज बिहान १० बजेसम्म काठमाडौँको वायु गुणस्तर एक्यूआई एक सय ५७ पुगेको छ । जसलाई ‘खराब’ स्तर मानिन्छ । त्यस्तै ललितपुको वायु गुणस्तर एक्यूआइ एक सय ६२ रहेको छ भने भक्तपुरको वायु गुणस्तर एक्यूआई एक सय ५९ रहेको छ । यी दुवै क्षेत्रको गुणस्तरलाई पनि खराब सूचीमा समावेश गरिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस