
सिमकोट : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताउनुभएको छ। रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ गरिएको भन्दै उँहाले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले आन्दोलन गरेर कानुन हातमा लिन खोजेको बताउनुभयो। उक्त प्रतिवेदनमा रास्वपाका नेताले पनि हस्ताक्षर गरेको उँहाले स्मरण गराउनुभयो।
रविको विषयमा अदालतले गर्ने कुनै पनि फैसला आफूहरुलाई मान्य हुने उँहाको भनाइ थियो। सोमबार हुम्लामा एमालेद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले कांग्रेस नेता बालकृष्ण खाँड र एमाले नेता टोपबहादुर रायमाझी पक्राउ पर्दा आफूहरुले एक शब्द नबोलेको बताउँदै उँहाले रवि पक्राउ पर्दा अनुसन्धानमा अवरोध गर्न खोज्नु गलत भएको धारणा राख्नुभयो। फरक प्रसंगमा बोल्दै उँहाले नयाँ सरकार गठनपछि देशमा अर्थतन्त्र चलायमान हुन थालेको, विकासका कामहरु अगाडि बढिरहेको र जनतामा अब केही हुन्छ भन्ने विश्वास पलाएको दाबी गर्नुभयो।
अहिले देशमा अस्थिरता चाहने केही मान्छेलाई छटपटी भइरहेको बताउँदै उँहाले त्यस्ता मान्छेलाई वर्तमान सरकार मन नपरेको बताउनुभयो। यो सरकार २०८४ को निर्वाचनसम्मै जाने दाबी गर्दै उँहाले त्यसपछि निर्वाचनमा जाने र जसको बहुमत आउँछ , सोही पार्टीले सरकार सञ्चालन गर्ने बताउनुभयो।