२०८२ जेष्ठ ३ गते शुक्रवार

काउली उत्पादनले घरखर्च चलाउन सहज

दिपायल (डोटी) – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन्। विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन्। अधिकांश खेतीयोग्य जग्गामा काउली उत्पादन हुन थालेपछि डोटी जिल्लाका किसान काउली खेतीतर्फ आकर्षित बन्दै गएका छन्। जिल्लाको के आईसिंह गाउँपालिका–४ किसान शिवराज धामीले दुई रोपनी क्षेत्रफलमा काउली उत्पादन गर्दै आएका छन्। उनको मुख्य आम्दानीको स्रोत नै काउली खेती बनेको छ। काउली उत्पादनबाट मात्रै उनले गतवर्ष रु दुुई लाख ५० हजार आम्दानी गरे। यसवर्ष पनि बारीमा करिब रु चार लाख बराबरको काउली बेच्न तयार भएको धामीले बताउनुभयो। गोठेमलको प्रयोग गर्दै विषादीयुक्त काउली उत्पादन गर्दै आएको र व्यापारी घरमै आएर काउली खरिद गर्दै आएका उँहाको भनाइ छ।

“घरखर्च चलाउन विदेश जानुपरेको छैन। काउली उत्पादनले नै घरखर्च चलाउन सहज भएको छ”, धामीले भन्नुभयो । के आई सिंह गाउँपालिका–४ का डिलबहादुुर बुढामगरले दुई रोपनी जमिनमा लगाउनुभएको काउली बेचन तयार भइसकेको छ। उनले गत वर्ष एक रोपनीमा लगाएको काउलाीबाट करिब रु एक लाख आम्दानी गरेको बताए। यसवर्ष पनि बारीमा लगभग रु दुई लाख बराबारको काउली तयार भएको छ। परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेका के आई सिहं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुुर शाहीले बताउनुभयो। पालिकाले किसानलाई उत्पादन भएको तरकारी बिक्री गर्न सहयोग गर्न थालेको उँहाले बताउनुभयो।

के आई सिंह गाउँपालिकाका कृषि शाखा प्रमुख योगेश रावल हिउँदे र बर्खे बालीका रूपमा काउलीखेती गरी किसानले मनग्य आम्दानी गर्दैआएको बताउनुहुन्छ। गर्त वर्ष एक हजार दुई सय क्विन्टल काउली उत्पादन भएको उँहाले बताउनुभयो। कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका र के आई सिहं गाउँपालिकालाई काउली पकेटको रूपमा छनोट गरी काउली उत्पादनमा जोड दिइएको बताउनुभयो

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार
प्रतिक्रिया दिनुहोस