
घोराही।
दाङमा सुरक्षित नागरिक आवास कार्यक्रम प्रभावकारी भएको छैन । खरका छानामा टिन लगाउन स्थानीय तहमार्फत सरकारले पठाएको बजेट खर्च नभएको हो । दाङमा कार्यक्रम सञ्चालन भएको आर्थिक वर्ष २०७७/०७८ देखि गत आर्थिक वर्ष २०८०/०८१ सम्म २६ करोड २७ लाख ४६ हजार आइसकेको छ तर एक हजार भन्दा धेरैको घरमा टिन लगाउन पुग्ने पैसा खर्च भएको छैन । विगत चार वर्षमा दाङमा टिन लगाउन आएको सात करोड ७३ लाख ११ हजार आठ सय ७३ रुपैयाँ २० पैसा खर्च नभएर फिर्ता गएको छ । हालसम्म जिल्लाभर १३ हजार पाँच सय ८७ घरको छानामा टिन लगाउन कार्यक्रम स्वीकृत भइसकेको छ तर दुई हजार सात सय ६३ खरको छाना भएका घरमा मात्रै टिन लगाइएको छ । पछिल्लो राष्ट्रिय जनगणना अनुसार दाङमा ११ हजार तीन सय ४० घरको छाना खरको छ । विपतबाट हुने क्षतिमा सबै भन्दा बढी आगलागीबाट क्षति भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको रेकर्डमा छ । केन्द्रका अनुसार आगलागीको उच्च जोखिममा राजपुर, गढवा, बबई, दंगीशरण, शान्तिनगर, बंगलाचुली र राप्ती गाउँपालिका छन तर ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत यी ठाउँमा कम बजेट पठाइएको छ । यता सघन शहरी तथा भवन निर्माण आयोजनाले पालिकाहरुको उदासीनताले गर्दा कार्यक्रम पूर्णरुपमा सफल नभएको बताएकाे छ ।।