दाङ । दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलामा आजदेखि सुरु गरिएको जलपरी प्रदर्शनी दर्शकको मुख्य आकर्षण बनेको छ। पानीभित्र सजीव जलपरीको जस्तै दृश्य देख्न पाइने यो प्रदर्शनी हेर्न मेलामा आउने दर्शकको भीड दिनभरि लागिरहेको छ।
विशेष रूपमा तयार पारिएको सुरक्षित काँचको जलट्याङ्कभित्र जलपरीको भेषमा कलाकारले प्रस्तुत गरेको कलात्मक प्रदर्शनले बालबालिकादेखि वृद्धसम्मलाई रोमाञ्चित बनाएको छ। पानीभित्रको सुन्दर चालढाल, हाउभाउ र मुस्कानले दर्शकलाई कल्पनाको संसारमा पुर्याइदिएको छ। धेरैले मोबाइल र क्यामेरामा तस्बिर तथा भिडियो कैद गर्दै सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।
मेलाका आयोजक अध्यक्ष बेद बहादुर बुढा मगरका अनुसार जलपरी प्रदर्शनी यस वर्षको मेलाको नयाँ र फरक आकर्षण हो। पर्यटन प्रवर्द्धनसँगै दर्शकलाई केही नयाँ अनुभव दिन यो प्रदर्शनी ल्याएका हौं, प्रेस संयोजक कैलाश घर्ती मगरले जानकारी दिए। प्रदर्शनीले मेलाको रौनक बढाएको र आन्तरिक पर्यटकको आकर्षण समेत बढेको उनीहरूको भनाइ छ।
पर्यटन, संस्कृति, स्थानीय उत्पादन र मनोरञ्जनलाई एउटै थलोमा समेट्ने उद्देश्यसहित आयोजना गरिएको माघे मेलामा सांस्कृतिक कार्यक्रम, चर्चित कलाकारको प्रस्तुति, स्थानीय परिकार तथा विभिन्न प्रदर्शनीहरू समेत चलिरहेका छन्। जलपरी प्रदर्शनीले भने मेलालाई थप चर्चा र आकर्षणको केन्द्र बनाइदिएको छ।
मेला अवधिभर सञ्चालन हुने जलपरी प्रदर्शनी हेर्न आयोजकले सबै दर्शकलाई माघे मेलामा उपस्थित हुन आग्रह गरेका छन्।










