घोराही । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सातौँ दिन चर्चित अभिनेता पल शाहको उपस्थितिले मेलास्थल मानौँ उत्सवमै परिणत भयो । शाह स्टेजमा आउने खबर फैलिएसँगै घोराही तथा आसपासका क्षेत्रबाट हजारौँ दर्शक मेला परिसरमा ओइरिएपछि भीड नियन्त्रण बाहिर पुगेको थियो ।
आफ्नै गृहजिल्लामा सार्वजनिक कार्यक्रममा देखिन लागेका नायक पल शाहलाई नजिकबाट हेर्ने चाहनामा बिहानैदेखि प्रशंसकहरू महोत्सवस्थलमा जम्मा भएका थिए । दिउँसो हुँदै जाँदा दर्शकदीर्घा पूर्ण रूपमा भरिएपछि प्रवेशद्वारमा थप कडाइ गर्नुपरेको थियो । भीड अत्यधिक भएपछि सयौँ दर्शक बाहिरै रोकिन बाध्य भए ।
दर्शकको चाप अत्यधिक भएपछि शान्ति सुरक्षा कायम गर्न खटिएका सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । स्टेज आसपास र स्टेजमै दर्शकको भीड बढेपछि केही समय कार्यक्रम सञ्चालनमै कठिनाइ उत्पन्न भएको थियो ।
जब अभिनेता पल शाह स्टेजमा उक्लिए, दर्शकको हुटिङ, ताली र नाराले महोत्सवस्थल गुञ्जायमान बन्यो । उनले आफ्ना चर्चित गीतहरूमा संक्षिप्त नृत्य तथा प्रस्तुति दिँदा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए । मेलाका सांस्कृतिकसंयोजक गोपाल बुढा मगरले हालसम्मकै सबैभन्दा ठूलो दर्शक उपस्थिति देखिएको बताए ।
सातौँ दिनको कार्यक्रममा नायक पल शाहसँगै चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी ले आफ्ना लोकप्रिय गीतमार्फत दङाली दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे । रात परेपछि पनि उनको प्रस्तुति चलिरहँदा दर्शक गीतमा नाच्दै रमाइरहेका थिए ।
उक्त कार्यक्रममा गायिका रचना चौधरी, गायक संगीत बीएम, सोनी डान्स ग्रुप, डान्सर मन्जु थापा तथा बाल कलाकार सान अधिकारीले आ–आफ्नो प्रस्तुति राख्दै महोत्सवलाई थप रंगीन बनाएका थिए।
पर्यटन, संस्कृति र स्थानीय प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘माघे मेला–२०८२’ ले घोराहीको सांस्कृतिक माहोललाई चरम उत्साहमा पुर्याएको आयोजकको भनाइ छ।










