२०८२ माघ ६ गते सोमवार

दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी : कुलेन्द्र बिश्वकर्मा र सिर्जना खत्रीले छमछमी नचाए दङाली दर्शक

घोराही ।

घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को तेस्रो दिन आज कुलेन्द्र बिश्वकर्मा, सिर्जना खत्री ‘हाउडे माया’ लगायतका कलाकारहरुले दङाली दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका छन् । साँझ ढल्दैगर्दा मञ्चमा उक्लिएका चर्चित लोकदोहोरी गायक कुलेन्द्र बिश्वकर्माका गीतले उमेरको सीमा तोडिदियो । युवादेखि वृद्धसम्म, बालबालिकादेखि अनुभवी दर्शकसम्म सबै एउटै तालमा छमछमी नाचिरहेका दृश्यले मेलास्थललाई जीवन्त बनाएको थियो । कुलेन्द्रका गीतहरू केवल सुन्ने विषय बनेनन्, ती गीत दर्शकको शरीर र मनसँगै बग्न थाले ।कुलेन्द्रले ‘जलजला, लाउँछ माया,उकाली ओराली, जिम्बल बाको आँगनीमा,सालको पात टपरी हुने’ जस्ता एकपछि अर्को लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शकदिर्घा नै नाचगानमा डुबेको देखिन्थ्यो । लोकधुनको तालमा युवायुवतीदेखि वृद्धसम्म खुलेर नाचेका दृश्यले मेलास्थललाई अझ रंगीन बनायो ।कुलेन्द्रको ऊर्जाशील प्रस्तुतिसँगै लोकप्रिय गायिका सिर्जना खत्री ‘हाउडे माया’ को पहिलो बोलसँगै दर्शकदिर्घा तरङ्गित भएको थियो । सिर्जनाको मिठासपूर्ण स्वरले माहोल झनै तातेको थियो । गीतसँगै दर्शकको ताली र हुटिङ मिसिँदा केही समय त भिड नियन्त्रणबाहिर जाने अवस्था समेत सिर्जना भयो । सुरक्षाकर्मी र आयोजकले संयमता अपनाउँदै माहोललाई व्यवस्थित बनाएका थिए ।

सिर्जनाले मेरो एक्सको छम्मा, नौ टंकी माया, डबल माया, ब्रेकप पार्टी, लाहुरे माया, एक नम्बर हरामी’ जस्ता हिट गीतमा युवाहरू उफ्रँदा धुलो उडेको दृश्यले कार्यक्रमको उचाइ झन् बढायो । त्यो क्षण संगीत, ऊर्जा र उन्मादको संगम बनेको थियो जहाँ थकान, चिन्ता र दूरी सबै हराएका जस्तै लाग्थे ।लोकधुनको यो यात्रालाई थप अर्थपूर्ण बनाउँदै गायिका सञ्जिता बुढा मगरले मञ्चमा लोकभाव मिसिएको प्रस्तुति दिएकी थिइन् । ‘डढेलोले वन खायो, जोडी मजदुरको’ र ‘सालैजो’ जस्ता गीतमार्फत उनले श्रम, समाज र जीवनका कथालाई संगीतमा बाँधिन्, जसले दर्शकलाई केवल नचाएन, सोच्न पनि बाध्य बनायो ।
सांस्कृतिक संयोजक गोपाल बुढामगरले आजको कार्यक्रम बहुआयामिक रहेको बताए । उनका अनुसार आज सोनी ग्रुपको दमदार प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिएको थियो ।उनका अनुसार जिल्लास्तरिय लोकदोहोरी गीत प्रतियोगिता र नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो । जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितातर्फ मझेरी रोदीघर घोराही र बागीना कला केन्द्र तुलसीपुरबीच सम्पन्न भएको थियो । रोचक प्रतिस्पर्धापछि मझेरी रोदीघर घोराही विजयी भएको दोहोरी गीत प्रतियोगिताका संयोजक प्रेम शर्माले जानकारी दिए ।

गीत, नाच, प्रतिस्पर्धा र दर्शकको अपार उत्साहले माघे मेला घोराहीको सांस्कृतिक पहिचान झल्काउने उत्सव बनेको छ । लोकसंस्कृतिको यो उत्सवले घोराहीलाई केही घण्टाका लागि भए पनि संगीतको राजधानी बनाएको अनुभूति सबैले गरेका थिए ।भोलि ज्योति मगर र एलिना चौहानलगायतको प्रस्तुति रहने छ ।यसैबीच दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ अन्तर्गत भोलि चर्चित गायिका ज्योति मगरसहितका कलाकारहरूको विशेष प्रस्तुति रहने भएको छ ।सांस्कृतिक संयोजक गोपाल बुढा मगरले कार्यक्रममा चर्चित गायिका एलिना चौहान, गायक प्रेम शर्मा, कलाकार वर्षा मगर र सुशीला मगरको प्रस्तुति रहने जानकारी दिए । उनका अनुसार सोनी डान्स ग्रुपले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ ।कार्यक्रमको सञ्चालन माधव जोन खत्री र रुपा घर्ती मगरले संयुक्त रूपमा गर्नेछन् । आयोजकका अनुसार भोलिको कार्यक्रमले माघे मेलाको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस