स्वर्गद्वारी प्रभु महाँराजको जन्मस्थल रुन्टिको संरक्षण र प्रवर्द्धन विषयमा सल्लाह–सुझाव तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
घोराहि २७ पौष
प्युठान जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्वर्गद्वारी प्रभु महाँराजको जन्मस्थल रोल्पा रुन्टिको संरक्षण, पहिचान र प्रवर्द्धनका विषयमा सल्लाह–सुझाव तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रुन्टिगढी सेवा समाज दाङको आयोजनामा सम्पन्न कार्यक्रममा रुन्टिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको छ। कार्यक्रमका सभाअध्यक्ष रुन्टिगढी सेवा समाज दाङका अध्यक्ष गिरिराज दशौदीले रुन्टि केवल एक स्थान मात्र नभई स्वर्गद्वारी प्रभु महाँराजको जीवन, तपस्या र दर्शनसँग गहिरो रूपमा जोडिएको पवित्र भूमि भएको बताउनुभयो। उहाँले यस क्षेत्रको संरक्षणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व सांसद अमर बहादुर डाँगीले स्वर्गद्वारी प्रभु महाँराजको योगदानले नेपाली समाजमा धार्मिक, सामाजिक र नैतिक चेतना फैलाएको उल्लेख गर्नुभयो। उहाँले रुन्टिलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउँदै यसका लागि गुरुयोजना तयार गरी कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो। संस्कृतिविद् डा। गोविन्द आचार्यले स्वर्गद्वारी प्रभु महाँराजको जीवन दर्शन, योग, तपस्या र मानवतावादी विचार वर्तमान समाजका लागि अत्यन्तै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले रुन्टिसँग सम्बन्धित ऐतिहासिक दस्तावेज, मौखिक इतिहास र सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्तले स्थानीय समुदायको सक्रिय सहभागिता बिना कुनै पनि ऐतिहासिक स्थलको संरक्षण दीगो नहुने बताउँदै रुन्टिको विकासमा स्थानीय युवाहरूलाई जोड्नुपर्ने सुझाव दिनुभयो। समाजसेवी इ। ऋषिराज शर्माले पूर्वाधार विकास, पहुँच मार्ग, सूचना पाटी र अध्ययन केन्द्र स्थापना गर्न सके रुन्टिको महत्व अझ बढ्ने धारणा राख्नुभयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै रुन्टिगढी सेवा समाजका वरिष्ठ उपाध्यक्ष पोम बहादुर बुढाथोकीले कार्यक्रमको उद्देश्य, समाजले हालसम्म गरेका गतिविधि तथा आगामी योजनाहरूको बारेमा जानकारी गराउनुभयो। उहाँले रुन्टिको ऐतिहासिक पहिचान जोगाउन सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको सञ्चालन समाजका सचिव नरेन्द्र डाँगीले गर्नुभएको थियो। अन्तरक्रियाका क्रममा सहभागीहरूले रुन्टिलाई धार्मिक, सांस्कृतिक तथा शैक्षिक अध्ययनको केन्द्रका रूपमा विकास गर्नुपर्ने, स्वर्गद्वारी प्रभु महाँराजसँग सम्बन्धित अनुसन्धानलाई प्रोत्साहन गर्नुपर्ने र सरकारी निकायसँग समन्वय बढाउनुपर्ने विषयमा आ–आफ्ना सुझावहरू राखेका थिए।
कार्यक्रम अन्त्यमा रुन्टिको संरक्षण र प्रवर्द्धनका लागि दीर्घकालीन योजना निर्माण गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको छ।










