पौष १ काठ्मान्डौ
नेकपा एमाले नेतृ साजिदा सिद्धिकी पार्टीको एघारौँ महाधिवेशनबाट मुस्लिम क्लस्टरको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । यसअघि पनि उहाँ चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य रहनुभएको थियो । पुनः केन्द्रिय कमिटीमा निर्विरोध चयन हुनुले पार्टीभित्र उहाँप्रतिको विश्वास, योगदान र स्वीकार्यता झन् बलियो बनेको देखिन्छ । दाङको घोराही उपमहानगरपालिका–१८, रझेनानिवासी सिद्धिकी विगत करिब २० वर्षदेखि सामाजिक सेवामा अनवरत रूपमा सक्रिय रहँदै आउनुभएको छ । समाजका पछाडि पारिएका वर्ग, समुदाय र विशेषतः मुस्लिम समुदायको हकहितका लागि आवाज उठाउँदै आउनुभएकी उहाँ सामाजिक न्याय र समावेशिताको पक्षमा दृढ नेतृका रूपमा परिचित हुनुहुन्छ ।
सिद्धिकीले सिसा मिडिया हाउसको अध्यक्ष तथा सिसा नेपालको अध्यक्षको जिम्मेवारी सम्हाल्दै सञ्चार माध्यममार्फत सामाजिक चेतना फैलाउने कार्य गर्नुभएको थियो । त्यसैगरी नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय उपाध्यक्षको भूमिकामा रहँदै मुस्लिम समुदायको सामाजिक, शैक्षिक र आर्थिक सशक्तीकरणका लागि उल्लेखनीय योगदान पुर्याउनुभएको छ । यी जिम्मेवारीहरू सफलतापूर्वक पूरा गर्दै उहाँले संगठन निर्माण र नेतृत्व क्षमताको प्रमाण प्रस्तुत गर्नुभएको छ । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत कपिलवस्तुमा खटिएर उहाँले पार्टी संगठन विस्तार, जनसम्पर्क र कार्यकर्ताको मनोबल बढाउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो । मोफसल क्षेत्रमा जनतासँग नजिक भएर काम गर्ने शैलीका कारण उहाँलाई नागरिकहरूले अत्यधिक रूपमा पछ्याउने गरेको देखिन्छ ।सामाजिक क्षेत्रमा काम गर्दा उहाँको पहलले धेरै बालबालिका र जेष्ठ नागरिकको जीवनशैलीमा सकारात्मक परिवर्तन आएको स्थानीयहरूको भनाइ छ ।
साथै महिला हिंसाका मुद्दामा सक्रिय रूपमा काम गर्दै आएकी सिद्धिकीको कारण धेरै महिलाले न्याय पाउन सफल भएका छन् । पीडित महिलालाई कानुनी तथा सामाजिक सहयोगमा जोड्दै उहाँले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ ।राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाउँदै आएकी नेतृ साजिदा सिद्धिकीको केन्द्रिय सदस्यमा पुनः निर्विरोध निर्वाचनलाई नेकपा एमालेभित्र समावेशी प्रतिनिधित्व, अनुभवी नेतृत्व र सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।











