२०८२ असोज २७ गते सोमवार

विष्णु थापा ‘बुदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार २०२५’ बाट सम्मानित

असोज १० घोराही
महिला सशक्तीकरण, सीप विकास र उद्यमशीलताको क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय रहँदै आएकी विष्णु थापालाई ‘बुदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार २०२५’ बाट सम्मान गरिएको छ । दाङ महिला जेसीजले हरेक वर्ष वितरण गर्दै आएको यो पुरस्कार यस वर्ष घोराही–१५ की थापालाई एक भव्य कार्यक्रमका बीच प्रदान गरिएको हो । जेसीज अध्यक्ष अनिता ढकालको अध्यक्षता, संविधानसभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यता एवं पुरस्कार स्थापना गर्ने समाजसेवी बुदादेवी गोराथोकीको विशिष्ट आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले समाज परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । विष्णु थापाजस्ता महिलाहरुको योगदानलाई सम्मानित गर्नु नै वास्तविक सशक्तीकरण भएको उहाँको भनाई थियो । विशिष्ट आतिथि गोराथोकीले पनि थापालाई बधाई दिँदै आफुले स्थापना गरेको अक्षकोषबाट समाजमा योगदान दिने महिलालाई मूल्याङ्कन गर्न पाउँदा गर्व लागेको बताउनुभएको थियो ।

पुरस्कार प्राप्त गरेकी विष्णु थापाले आफ्नो अनुभव साझा गर्दै यो सम्मानले आफुलाई अझ बढी जिम्मेवार बनाएको बताउनुभयो । महिला सशक्तीकरण, सीप विकास र उद्यमशीलता प्रवद्र्धनका लागि अझै सक्रिय भएर लाग्ने प्रतिवद्धता जानउनुभयो ।

२०२२ मा समाजसेवी बुदादेवी गोराथोकीले सामाजिक क्षेत्रमा योगदान गरेका महिलाहरुलाई सम्मान गर्ने उद्देश्यका साथ अक्षकोष स्थापना गर्नुभएको थियो । यस अघि पहिलो पटक विमला योगीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा जेसीजकी कार्यकारी उपाध्यक्ष तथा पुरस्कार छनोट समितिकी संयोजक लक्ष्मी घमालले पुरस्कारका लागि थापाको योगदान उच्च मूल्याङ्कन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा मिसन भिजन उपाध्यक्ष मायाकुमारी चौधरीले वाचन र आस्थापाठको अगुवाई उपाध्यक्ष दिपा पुनले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस