घोराही, दाङ ।
प्रेस चौतारी नेपाल दाङ अन्तर्गत घोराही उपमहानगर कमिटीको नगरस्तरीय बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रेस चौतारी नेपाल घोराही उपमहानगर कमिटीका अध्यक्ष महेश बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा दाङ र रोल्पाका इन्चार्ज दुर्गालाल केसी रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासन उपस्थित हुनुहुन्थ्यो।त्यसैगरी, प्रेस चौतारी नेपाल दाङका सचिव निमु संगम घर्ती पनि अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
बैठकमा दुर्गालाल केसीलाई दाङ र रोल्पाको इन्चार्जको रूपमा नयाँ जिम्मेवारी प्राप्त भएकोमा विशेष बधाई तथा सम्मान प्रकट गरिएको थियो। साथै, कमिटीलाई थप सशक्त बनाउने उद्देश्यका साथ प्रेस चौतारी नेपालका साधारण सदस्य नवराज खत्रीलाई सदस्यमा मनोनयन गरिएको थियो भने प्रेस चौतारी नेपाल घोराही उपमहानगर कमिटीका सल्लाहकारमा तीनजना नयाँ अनुहारहरू चयन गरिएका छन्। तीमध्ये पूर्व सहसचिव आनन्द मोहन पन्थी, पूर्व सदस्य शिव घर्ती, र निवर्तमान सचिव किरण गौतमलाई सल्लाहकार पदमा चयन गरिएको हो।
बैठकमा समसामयिक विषयमा पनि गम्भीर छलफलहरू गरिएका थिए। यस्तै चौतारी घोराही नगरले किसान संग चौतारी कार्यक्रमको आयोजना र्गो भएको छ । विशेषगरी, कृषकहरूले भोग्दै आएका मल तथा बिउबिजनको समस्यालाई सम्बोधन गर्न सर्वपक्षीय कार्यक्रम गर्ने निर्णय पनि बैठकबाट पारित भएको छ। महिला उपाध्यक्ष हिमानी डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव दीपक ओलीले गर्नुभएको थियो। बैठकमा प्रमुख अतिथि दुर्गालाल केसी, विशिष्ट अतिथि सविन प्रियासन र सचिव निमु संगम घर्तीले आ–आफ्ना धारणा राख्दै प्रेस चौतारीको संगठनात्मक सुदृढीकरणका साथै पत्रकारहरूको हितमा काम गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो।
साथै प्रेस चौतारी नेपाल दाङ लगायत घोराहि उपमहानगर कमिटीमा आबद्ध रहेका सम्पूर्ण साथीहरूलाई पत्रकारितामा सक्रिय रुपमा लाग्न र संगठन विस्तारमा आफ्नो मेहनत लगनशीलता कायम गर्न पनि आग्रह गर्नुभएको थियो ।बैठकले प्रेस चौतारी नेपाल घोराही उपमहानगर कमिटीको संगठन विस्तार, प्रभावकारी कार्ययोजना निर्माण र पत्रकार हितका विषयमा ठोस निर्णयहरू गर्दै समापन गरिएको थियो।










