२०८२ चैत्र २८ गते शनिवार

गुरुकुल एकेडेमी लमहीको शैक्षिक निर्देशकमा विवेक देवकोटा नियुक्त

लमही १९ चैत्र
दाङको लमहीस्थित गुरुकुल एकेडेमी लमहीमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा व्यवस्थापन सुदृढीकरण गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको छ। विद्यालयले शैक्षिक निर्देशक पदमा अनुभवी शिक्षक विवेक देवकोटालाई नियुक्त गरेको हो। नवनियुक्त शैक्षिक निर्देशक देवकोटा विगत १२ वर्षदेखि शिक्षण पेशामा सक्रिय रहँदै आउनुभएको छ। बिद्यालय संचालक समतिको आज बसेको बैठकले बिभिन्न पदमा कर्मचारी नियुक्त गरेको बिद्यालयका अध्यक्ष ई। अनन्राज घिमिरेले जानकारी दिनुभयो । विभिन्न शैक्षिक संस्थामा अध्यापन तथा शैक्षिक व्यवस्थापनको अनुभव बटुल्नुभएका उहाँले विद्यार्थीको समग्र विकास, प्रविधिमैत्री शिक्षण विधि र गुणस्तरीय शिक्षा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको विद्यालय प्रशासनले जनाएको छ। उहाँको नियुक्तिसँगै गुरुकुल एकेडेमीले आधुनिक, व्यवहारिक र प्रतिस्पर्धी शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास लिएको छ।

यसैगरी, विद्यालयले प्रशासनिक संरचनालाई थप मजबुत बनाउन एडमिन हेडमा देबिराम राउतलाई नियुक्त गरेको छ। राउतको व्यवस्थापन क्षमताले विद्यालयको दैनिक प्रशासनिक कार्य, अभिभावक समन्वय तथा संस्थागत विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। त्यसैगरी, सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यसहित आइटी हेडमा कृष्ण सुबेदी नियुक्त हुनुभएको छ। प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकतामा राख्दै डिजिटल कक्षा, ई–लर्निङ र एआई आधारित शिक्षण प्रणाली कार्यान्वयनमा उहाँको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।

विद्यालय व्यवस्थापनले नयाँ नियुक्तिहरूसँगै गुरुकुल एकेडेमी लमहीलाई शैक्षिक नवप्रवर्तन, अनुशासन र उत्कृष्टताको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, आगामी दिनमा विद्यार्थीलाई समयसापेक्ष, सीपमूलक र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै समग्र शैक्षिक वातावरण अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ। नव नियुक्त कर्मचारीहरुलाई बिद्यालयका कार्यकारी अध्यक्ष कमलजंग ठकुरी , सेयर सदस्य शितल भुषाल , गोबिन्द पुलामि प्रधानाध्यापक बिहाल साहु र मार्केटिङ हेड शुदांस जिसिले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस