२०८२ चैत्र २८ गते शनिवार

गुरुकुल एकेडेमीका प्रि–२ का विद्यार्थिहरुको ११औँ दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न

घोराही १८ चैत
गुरुकुल एकेडेमीले प्रि–२ तहका विद्यार्थिहरुको ११औँ दीक्षान्त समारोह आज एक विशेष कार्यक्रमका बीच भव्य रुपमा सम्पन्न गरेको छ । साना नानीहरुको शैक्षिक यात्राको महत्वपूर्ण चरणको रुपमा रहेको दीक्षान्त समारोह उत्साहपूर्ण वातावरणमा आयोजना गरिएको हो। गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा संजिवनि शिक्षण अस्पताल घोराहीमा कार्यरत डा। गोमा रीमाल रहनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष बिपुल पोख्रेल विशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।प्रमुख अतिथिका रुपमा बोल्दै संजिवनि शिक्षण अस्पताल घोराहीमा कार्यरत डा। गोमा रीमालले बालबालिकाको प्रारम्भिक शिक्षालाई जीवनको आधारशिला भएको बताउनुभयो । उहाँले सानो उमेरमै सिकाइएका अनुशासन, संस्कार र व्यवहारले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै गुरुकुल एकेडेमीले गुणस्तरीय शिक्षामार्फत बालबालिकाको समग्र विकासमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो । साथै उहाँले अभिभावकलाई बालबालिकासँग समय बिताउन र उनीहरुको रुचि तथा क्षमतालाई पहिचान गरी प्रोत्साहन गर्न आग्रह गर्नुभयो । आफुले भोगेको संघर्षका कुराहरु राख्दै अभिभावकले पनि विद्यार्थिहरुको मर्मअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष बिपुल पोख्रेलले शिक्षाले मात्र सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्न सक्ने बताउनुभयो । उहाँले प्रारम्भिक तहबाटै सिर्जनशीलता, अनुशासन र आत्मविश्वास विकास गर्न सके भविष्यमा देशका लागि योग्य जनशक्ति तयार हुने धारणा राख्नुभयो । साथै उहाँले गुरुकुल एकेडेमीले आधुनिक शिक्षण विधि अपनाउँदै बालबालिकालाई व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै विद्यालयको प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा गुरुकुल एकेडेमीका निवर्तमान प्रधानाध्यापक डा। कृष्ण राज डिसी, अभिभावक शिवराज नेपाली तथा गुरुकुल एकेडेमी लमहीकी इसिए संयोजक मौसमी दत्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थिहरुको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो । उहाँहरुले प्रारम्भिक शिक्षाले बालबालिकाको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। दीक्षान्त समारोहमा गुरुकुल एकेडेमी लमहीका ५ जना, घोराहीका ४२ जना तथा तुलसीपुरका १३ जना गरी कुल ६० जना विद्यार्थिहरु दीक्षित भएका थिए । दीक्षित नानीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरुको उपलब्धिको कदर गरिएको थियो । कार्यक्रम मन्टेस्वरी संयोजक सुनिता रानी पुनको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षिका सम्झना शाहले गर्नुभएको थियो । कार्यक्रमभर सांस्कृतिक प्रस्तुतिहरु, नृत्य तथा विभिन्न सिर्जनात्मक गतिविधिहरुले थप आकर्षण थपेका थिए, जसले अभिभावक तथा उपस्थित अतिथिहरुलाई भावुक र उत्साहित बनाएको थियो।

यसैबीच, गुरुकुल एकेडेमी तुलसीपुरमा पनि छुट्टै रुपमा दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्राध्यापक तथा पूर्व परीक्षा नियन्त्रक नील प्रसाद सापकोटा प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रमको संयोजन गुरुकुल एकेडेमी तुलसीपुरकी विद्यालय संयोजक चिन्तना धितालले गर्नुभएको थियो । समग्रमा, गुरुकुल एकेडेमीले आयोजना गरेको ११औँ दीक्षान्त समारोहले साना बालबालिकाको शैक्षिक यात्रामा नयाँ ऊर्जा र प्रेरणा प्रदान गर्नुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस