२०८२ चैत्र १२ गते बिहिवार

गुरुकुलमा एआई आधारित शिक्षण पद्धति लागू हुने

२ चैत, दाङ-दाङमा रहेको गुरुकुल एकेडेमीले आगामी शैक्षिक सत्र २०८३ देखि एआई (कृत्रिम बुद्धिमत्ता) आधारित शिक्षण पद्धति लागू गर्ने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गर्दै शिक्षण सिकाइ प्रक्रियालाई थप आधुनिक, प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउन नयाँ शैक्षिक अवधारणा कार्यान्वयन गर्न लागिएको जनाएको हो ।घोराही उपमहानगरपालिका–१५, रतनपुरमा मुख्य कार्यालय रहेको गुरुकुल एकेडेमीले स्थापना कालदेखि नै आधुनिक तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको जनाएको छ । विद्यालयका अनुसार विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी परियोजनामूलक सिकाइ, प्रयोगात्मक अभ्यास तथा अनुसन्धानमुखी अध्ययनमार्फत ज्ञान आर्जन गराउने लक्ष्यका साथ नयाँ शिक्षण पद्धति लागू गर्न लागिएको हो ।

विद्यालयले शिक्षालाई जीवनोपयोगी, सिर्जनात्मक र प्रविधिमैत्री बनाउने उद्देश्यले विगत केही वर्षदेखि विभिन्न प्रयोग गर्दै आएको जनाएको छ । गुरुकुल एकेडेमी घोराहीबाट सुरु भएको शिक्षण अवधारणा अहिले विस्तार हुँदै गएको र हाल घोराही, तुलसीपुर र लमहीमा सञ्चालनमा रहेका तीनवटै विद्यालयमा नयाँ प्रणाली लागू गरिने जनाइएको छ ।

विद्यालयका अनुसार विद्यार्थीको बौद्धिक विकाससँगै नैतिकता, अनुशासन, नेतृत्व क्षमता, सिर्जनशीलता तथा सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिइँदै आएको छ । नियमित रूपमा शैक्षिक प्रतियोगिता, विज्ञान प्रदर्शनी, खेलकुद तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटनका अवसर प्रदान गरिँदै आएको बताइएको छ ।

प्रेस विज्ञप्तिअनुसार विकसित मुलुकहरूमा एआई आधारित शिक्षण प्रणालीले विद्यार्थीको विश्लेषण क्षमता, अनुसन्धान क्षमता तथा समस्या समाधान गर्ने दक्षता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । सोही अभ्यासलाई ध्यानमा राख्दै गुरुकुल एकेडेमीले पनि समयअनुसार प्रविधिमैत्री शिक्षण प्रणाली लागू गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस