घोराही ८ फाल्गुन
निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन दाङको आयोजनामा सम्पन्न अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा गुरुकुल एकेडेमीका विद्यार्थीहरूले तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा जिल्लाभरका विभिन्न निजी विद्यालयका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक वातावरणका बीच गुरुकुल एकेडेमीका कक्षा ११ विज्ञान संकायमा अध्ययनरत सिमरन योगी र अभिसा पुन मगर ले उत्कृष्ट खेल प्रदर्शन गर्दै तेस्रो स्थान सुरक्षित गरेका हुन्।
प्रतियोगितामा सुरुवाती चरणदेखि नै आत्मविश्वासपूर्ण प्रदर्शन गरेका उनीहरूले सेमिफाइनलसम्म सशक्त उपस्थिति जनाएका थिए। फाइनल चरण नजिक पुग्दा कडा प्रतिस्पर्धाका कारण तेस्रो स्थानमा सीमित भए पनि उनीहरूको खेल कौशल, संयम र समन्वयले दर्शक तथा आयोजकको ध्यान आकर्षित गरेको थियो। तेस्रो स्थान हासिल गरेका दुवै विद्यार्थीलाई आयोजक प्याब्सन दाङले नगद पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरी सम्मान तथा पुरस्कृत गरेको जनाएको छ। पुरस्कार वितरण कार्यक्रममा बोल्दै आयोजकले विद्यार्थीहरूको खेलप्रति लगाव र अनुशासन प्रशंसनीय रहेको उल्लेख गरेका थिए।
विद्यालयका प्रधनाध्यापक प्रदिप राजभण्डारीले विद्यार्थीहरूको उपलब्धिलाई गौरवको विषय भएको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र टीम–स्पिरिट विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएके छ। यस्तै विद्यालयका प्लस टु संयोजक राजन अधिकारीले खेलकुदले शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न मद्दत गर्ने भएकाले आगामी दिनमा पनि खेल गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिनुभयो।प्याब्सन दाङले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै विद्यार्थीहरूको समग्र विकासका लागि विभिन्न खेलकुद तथा सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जिल्लास्तरीय यस्ता प्रतियोगिताले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, आपसी सद्भाव र सहकार्यको वातावरण सुदृढ बनाउने अपेक्षा गरिएको छ।










