२०८२ फाल्गुन २६ गते मङ्गलवार

संजीवनी टिचिङ हस्पिटल माघ २८ बाट सञ्चालनमा आउने, पत्रकार सम्मेलनमार्फत जानकारी

घोराही २७ माघ
दाङको घोराही उप–महानगरपालिका–३, बरगदुवामा निर्माण गरिएको ३०० शैयाको संजीवनी टिचिङ हस्पिटल माघ २८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । अस्पताल व्यवस्थापनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो । “CARE FOR ALL (सबैको ख्याल राखौं)” भन्ने मूल नारासहित स्थापना गरिएको यस शिक्षण अस्पतालले दाङसहित सल्यान, प्युठान, रोल्पा, रुकुम पूर्व तथा पश्चिमलगायत क्षेत्रका नागरिकलाई लक्षित गरी सेवा विस्तार गर्न लागेको अस्पतालले जनाएको छ । पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले वि.सं. २०७८ सालमा निर्माण कार्य सुरु भएको अस्पतालले सम्पूर्ण तयारी पूरा गरी माघ २८ बाट सेवा सुरु गर्न लागेको जानकारी दिनुभयो। उहाँका अनुसार हालका लागि ३०० शैयाको मल्टिस्पेशालिटी अस्पताल सञ्चालनमा ल्याइनेछ । अस्पतालमा ओपिडी सेवाअन्तर्गत जनरल फिजिसियन, हाडजोर्नी तथा नसारोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन रोग, शिशु तथा बालरोग, मुटुरोग, ग्यास्ट्रोएन्टेरोलोजी, इएनटी, डेन्टल, नेत्ररोग तथा फिजियोथेरापी विशेषज्ञ सेवा उपलब्ध हुने जानकारी दिइएको छ ।

यसैगरी अस्पतालमा आईसीयू, सीसीयू, एमआईसीयू, एसआईसीयू, एनआईसीयू, पीआईसीयू, एचडीयू तथा हेमोडायलाइसिस सहितको क्रिटिकल केयर सेवा सञ्चालनमा रहनेछ । रेडियोलोजी सेवामा डिजिटल एक्स–रे, भिडियो एक्स–रे, म्यामोग्राफी, ईसीजी, इको, सिटी स्क्यान, एमआरआई, इन्टरभेन्सनल इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा उपलब्ध हुने जनाइएको छ । भर्ना सेवाअन्तर्गत जनरल तथा डिलक्स क्याबिनको व्यवस्था गरिएको छ भने मोडुलर ओटीमार्फत सामान्य तथा जटिल शल्यक्रिया गरिनेछ। साथै २४ घण्टा आपतकालीन सेवा, फार्मेसी र प्रयोगशाला सेवा निरन्तर सञ्चालनमा रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । अन्य सेवामा क्याथ ल्याब, पल्मोनरी फङ्सन टेस्ट (PFT), ईएमजी, ईईजी, ब्लड बैंक र एम्बुलेन्स सेवा समेत रहनेछ ।

पत्रकार सम्मेलनमा दीर्घकालीन योजनाबारे जानकारी दिँदै तीन वर्षभित्र अस्पतालको शैया संख्या ५०० पु¥याउने, साथै नर्सिङ, पारामेडिक्स, एमबीबीएस तथा बिएनएस कार्यक्रम सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताइयको छ । हाल यस अस्पतालमा करिब ३५० जनाले रोजगारी पाएका छन । अस्पतालले जनस्वास्थ्य सेवा ऐन २०७५, जनस्वास्थ्य सेवा नियमावली २०७७ तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७९ अनुसार सेवा प्रवाह गर्ने जनाएको छ। अस्पताल प्रशासनले यस क्षेत्रका नागरिक, सञ्चारकर्मी, राजनीतिक दल, पेशाकर्मी तथा संघ–संस्थाबाट निरन्तर सहयोगको अपेक्षा गरिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस