२०८२ फाल्गुन २६ गते मङ्गलवार

घोराही–३ गोग्ली भानपुरमा संजिवनी शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण तयारी पूरा , स्वास्थ्य मन्त्रालयद्धारा ३०० शैय्याको स्वीकृति प्रदान , माघ मसान्तसम्ममा नियमित सेवा सुरु हुने अस्पतालको भनाई

माघ १९ घोराही

दाङको घोराही उपमहानगरपालिका–३ गोग्ली भानपुरबाट सञ्चालनमा आउन लागेको संजिवनी शिक्षण अस्पतालको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३०० शैय्याको औपचारिक स्वीकृति प्राप्त भएसँगै अस्पताल सञ्चालनको अन्तिम चरणको तयारी समेत सकिएको हो। यस संगै सम्पुर्ण कागजि प्रकृया पुरा भएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओं) दीपक रोकाका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक, प्रशासनिक तथा मानव संसाधनसम्बन्धी कार्य पूरा भइसकेका छन्। बिलिङ सफ्टवेयर जडानदेखि लिएर जनशक्ति व्यवस्थापन, सेवा प्रणाली, उपकरण व्यवस्थापन तथा आन्तरिक संरचना तयारी सबै सम्पन्न भएको उहाँले जानकारी दिनुभयो।

अस्पतालले यही माघ मसान्तभित्र नियमित स्वास्थ्य सेवा सुरु गर्ने लक्ष्य लिएको सीईओ रोकाले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक चरणमै विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गरिनेछ भने क्रमशः शिक्षण अस्पतालको रूपमा समेत अस्पताललाई विस्तार गरिने योजना रहेको छ। अस्पतालको क्षेमता ५०० शैया रहेको पनि सिइओ रोकाले बताउनुभयो । संजिवनी शिक्षण अस्पताल सञ्चालनमा आएसँगै दाङ जिल्ला मात्र होइन, रोल्पा, प्युठान, सल्यान, बाँके लगायत आसपासका जिल्लाका नागरिकहरूलाई ठुलो राहत पुग्ने विश्वास गरिएको छ। हालसम्म जटिल उपचारका लागि नेपालगञ्ज, बुटवल, काठमाडौँ जस्ता सहरहरूमा जानुपर्ने बाध्यता रहेकोमा अब सो अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। स्थानीयवासी, बुद्धिजीवी तथा स्वास्थ्यकर्मीहरूले समेत संजिवनी शिक्षण अस्पताललाई प्रदेशस्तरको स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास हुने सम्भावनायुक्त परियोजनाको रूपमा हेरेका छन्।

यसले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना, चिकित्सा शिक्षा र अनुसन्धानमा योगदान दिने विश्वास गरिएको छ। स्वास्थ्य पूर्वाधारको दृष्टिले महत्वपूर्ण मानिएको संजिवनी शिक्षण अस्पताल सञ्चालनमा आएपछि दाङ र लुम्बिनी प्रदेशकै स्वास्थ्य सेवामा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। अस्पतालमा ओ.पि।डी. सेवा, जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, शिशु तथा बालरोग, मुटु रोग, ग्यास्ट्रोलोजी, नाक–कान–घाँटी, दन्त रोग, नेत्र रोग र फिजियोथेरापी सेवा उपलब्ध हुनेछन्। त्यसैगरी, मोड्युलर ओ.टी., जनरल र डिलक्स वार्डसहितको भर्ना सेवा, आई.सी.यू., एम.आई.सी.यू., सी.सी.यू., एस.आई.सी.यू., एन.आई.सी.यू., पी.आई.सी.यू., एच.डी.यू. तथा हेमोडायलाइसिसजस्ता क्रिटिकल केयर सेवासमेत सञ्चालनमा ल्याइने छ। अस्पतालमा डिजिटल एक्स–रे, म्यामोग्राफी, अल्ट्रासाउन्ड, ई.सी.जी., इकोकार्डियोग्राम, सि.टी. स्क्यान, एम.आर.आई., इन्टरभेन्सनल एन्डोस्कोपी र कोलोनोस्कोपी जस्ता अत्याधुनिक रेडियोलोजी तथा परीक्षण सेवाहरू उपलब्ध हुने जनाइएको छ। साथै, क्याथ ल्याब, पी.एफ.टी., ई.एम.जी., ई.ई.जी., ब्लड बैंक र एम्बुलेन्स सेवासमेत रहनेछन्। २४ सै घण्टा इमरजेन्सी, फार्मेसी र प्रयोगशाला सेवा सञ्चालनमा रहने अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस