२०८२ फाल्गुन २६ गते मङ्गलवार

गुरुकुल एकेडेमी तुलसिपुरको दोस्रो वार्षिकउत्सव सम्पन्न

तुलसिपुर १८ माघ
तुलसिपुरस्थित गुरुकुल एकेडेमीको दोस्रो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको हो। नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष भोजराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले गर्नुभएको थियो। बार्षिकउत्सव कार्यक्रममा एन–प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपाने, आदर्श अंग्रेजी स्कुलका प्रधानाध्यापक बसन्त टन्डन तथा गुरुकुल एकेडेमी घोराहीका निवर्तमान प्रधानाध्यापक डा. कृष्णराज डिसी लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको शैक्षिक यात्राको प्रशंसा गर्नुभएको थियो। वक्ताहरूले गुरुकुल एकेडेमीले छोटो समयमा नै गुणस्तरीय शिक्षाका माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाउँदै गएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख अतिथि जोशीले शिक्षाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै संस्कारयुक्त, व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो। उहाँले गुरुकुल एकेडेमीले संस्कार, ज्ञान र अनुशासनलाई प्राथमिकतामा राखेर शिक्षा प्रदान गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। विद्यालय संयोजक चिन्तना धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक बासुदेव योगी र सृजना बोहोराले गर्नुभएको थियो भने विद्यार्थी पमिसा सेन वली र शुभम सुनारले पनि कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूले विभिन्न नाटक, गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। साथै विद्यार्थीहरूद्वारा निर्माण गरिएको विज्ञानकला (साइन्स प्रोजेक्ट) प्रदर्शनी पनि गरिएको थियो, जसले विद्यार्थीहरूको सिर्जनशीलता र व्यवहारिक ज्ञानलाई उजागर गरेको थियो। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दोस्रो वार्षिक उत्सवले विद्यालयको शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिलाई उजागर गर्नुका साथै विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको धारणा रहेको छ।

प्रकाशित मिति : २०८२ माघ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस