दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को चौधौँ दिन आज चर्चित गायक रमेशराज भट्टराईको धमाकेदार प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बनेको छ ।
माघको चिसो साँझमा पनि ‘बहुला’ गायकका रूपमा परिचित भट्टराईका ऊर्जाशील गीतहरूले दर्शकलाई धुलो उडाउँदै नाच्न बाध्य बनायो । स्टेज सम्हाल्ने बित्तिकै माहोल उत्साहले भरिएको देखिन्थ्यो । साँझ छिप्पिँदै जाँदा र तापक्रम घट्दै जाँदा पनि दर्शकहरूको जोशमा कुनै कमी आएन ।
भट्टराईले आफ्ना चर्चित हिट गीतहरू ‘राजा राजा भन्थी बाजा बजाएर गई र बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई गाउन सुरु गरेसँगै दर्शकको हुटिङले महोत्सवस्थलको वातावरण झन् आकर्षक बनेको थियो । उनका भन साइला तिमी लास्टै क्यूटी, ल्याङ ल्याङ गर्ने बानी, पन्चै बाजा, होलीमा अरे होलीमा, बल्ल खाइस् र मलाई हातमा राखी बानेर गई’ बोलका गीतले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे ।
आज पनि मेलामा दर्शकको चाप अनपेक्षित रूपमा बढेको थियो । अत्यधिक उपस्थितिका कारण मेला परिसर खचाखच भरिएको देखिन्थ्यो भने भिड व्यवस्थापन र शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे परेको थियो । भिड यति ठूलो थियो कि मानिसहरू एक–अर्कामा ठोक्किँदै भए पनि गायक भट्टराईको हाउभाउ र गायकीमा झुमिरहेका देखिन्थे । साँझको अँध्यारोले महोत्सवस्थल ढाकिसक्दा पनि मनोरञ्जनको भोकमा रहेका दर्शकहरू टसमस भएनन् ।
महोत्सवमा स्थानीय कलाकारहरूले पनि धमाकेदार प्रस्तुति राख्दै कार्यक्रमलाई थप रौनकता दिएका थिए








