२०८२ माघ ६ गते सोमवार

घोराही १५ बिकासनगर टोलमा नवनिर्मित पितृमोक्ष संस्कार गृहको भव्य उद्घाटन

घोराही ५ माघ
दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित बिकासनगर टोलमा नवनिर्मित पितृमोक्ष संस्कार गृहको एक कार्यक्रमका बीच भव्य रूपमा उद्घाटन गरिएको छ। स्थानीय समुदायको सक्रिय सहभागिता, सहयोग र एकताबाट निर्माण सम्पन्न भएको उक्त संस्कार गृहको उद्घाटन समारोह निर्माण समितिका संयोजक घनश्याम गिरीको अध्यक्षता तथा बिकासनगर टोल विकास संस्थाका अध्यक्ष बेचन वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बिकासनगर टोल विकास संस्थाका संस्थापक अध्यक्ष भोपलाल रोकाको विशिष्ट आतिथ्यता रहेको थियो। प्रमुख अतिथि वली, विशिष्ट अतिथि रोका लगायतका अतिथिहरूले संयुक्त रूपमा रिबन काटेर पितृमोक्ष संस्कार गृहको औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बेचन वलीले स्थानीय बासिन्दाहरूको एकताले समाजका लागि आवश्यक पूर्वाधार निर्माण सम्भव भएको उल्लेख गर्नुभयो। उहाँले पितृमोक्ष संस्कार गृहले पितृकार्य जस्ता संवेदनशील संस्कारहरूलाई व्यवस्थित, मर्यादित र सहज बनाउने विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि भोपलाल रोकाले बिकासनगर टोलमा सामाजिक चेतना र सामूहिक उत्तरदायित्वको भावना बढ्दै गएको उल्लेख गर्दै, यस्ता संरचनाहरूले समाजलाई संस्कार र संस्कृतिप्रति अझ जिम्मेवार बनाउने बताउनुभयो।कार्यक्रममा समाजसेवी धनसिंह गिरी, जनसाँस्कृतिक समूहका दिपेन्द्र केसी, रुकुमेली सिंगारु नाचका अगुवा बलबहादुर बुढा, नयाँ बिहानि टोल विकास संस्थाका अध्यक्ष खुशलराम पुन र समाजसेवि तथा युवा ब्यबसायि इन्द्र कुमार वली लगायतले शुभकामना मन्तव्य राख्दै संस्कार गृहको दीर्घकालीन उपयोगिता र संरक्षणमा सबैले भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।स्थानीय टोलवासीहरूको व्यक्तिगत लगानी, सामूहिक सहयोग र केही जिन्सी सामग्रीको सौजन्यमा उक्त पितृमोक्ष संस्कार गृह, शौचालय, तारबार तथा बेस फिलिङको निर्माण कार्य सम्पन्न भएको हो। कार्यक्रममा टोल विकास संस्थाकी कोषाध्यक्ष सुनिता वलीले आय–व्यय विवरण सार्वजनिक गर्दै पारदर्शिता र जवाफदेहिताको उदाहरण प्रस्तुत गर्नुभएको थियो।

उद्घाटन समारोहकै अवसरमा उक्त पितृमोक्ष संस्कार गृहको सञ्चालक समिति पनि गठन गरिएको छ। निर्माण समितिका संयोजक घनश्याम गिरीलाई सञ्चालक समितिको अध्यक्ष, बिकासनगर टोलबाट तारा खत्रीलाई सचिव तथा सुनिता वलीलाई कोषाध्यक्ष चयन गरिएको छ। अन्य पदाधिकारी तथा सदस्यहरू समितिको निर्णय अनुसार पछि चयन गरिने जानकारी दिइएको छ।निर्माण समितिका सदस्य सनम केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिकासनगर टोल विकास संस्थाका सचिव दीपक वलीले गर्नुभएको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
स्थानीयस्तरमै निर्माण गरिएको पितृमोक्ष संस्कार गृहले अब बिकासनगर टोलसहित आसपासका क्षेत्रका बासिन्दाहरूलाई संस्कार तथा सामाजिक कार्यका लागि सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ माघ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस