दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को नवौँ दिन चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै पूर्ण रूपमा सङ्गीतमय बनेको छ । लोकदोहोरी, आधुनिक तथा नृत्य प्रस्तुतिले मेलास्थलमा दर्शकको उत्साह उच्च देखिएको थियो ।कार्यक्रममा गायक पुष्कल शर्मा ले म जिउन सक्दिन मुटु जलाई जलाई, भेट्न पाउँछु पाउँदैन माया, तिम्रो थर मेरो थर एउटै बनाम, शिरमा रातो डोरी, झुम्के भुलाकी, सालैजो र पाल्पाली माया जस्ता चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई झुम्माए ।
त्यस्तै, गायक महेश काफ्लेले लजालु जोस, भेट्न जाउ रातीमा, असारे मैना सिमसिमे पानी, माया बिरानो र बोटलको पानीले प्रस्तुत गर्दै माहोल थप रौनकपूर्ण बनाए ।गायिका अस्मिता अधिकारीले काले केटाले, शिरफुल, तिमै रुखै करौती र म यस्तो गाउँछु गीतमार्फत् दर्शकको प्रशंसा बटुलिन् ।त्यसैगरी गायिका बिमला खड्काले कपाल काटेर छोटो बनाई छु, भागी जाउ चोर बाटो र सुनछहरी झर्ना प्रस्तुत गरिन् ।नृत्यतर्फ मोडेल तथा डान्सर आरुषी मगर, सोनी डान्स ग्रुप र सर एम आर डि डान्स ग्रुपले आकर्षक प्रस्तुति दिएका थिए ।
कार्यक्रमको उद्घोषण माधव जोन खत्री र दीपक बर्माले गरेका थिए । माघ १० गतेसम्म सञ्चालन हुने माघे मेला–२०८२ मा हरेक दिन चर्चित कलाकारहरूको प्रस्तुति भइरहेकाले घोराहीमा उत्सवमय वातावरण कायम रहेको छ ।










