दाङ । घोराहीको माघे मेला यसपालि केवल सांस्कृतिक प्रस्तुति, खानाका परिकार र मनोरञ्जनमा मात्र सीमित छैन । महोत्सवको मुख्य प्रवेशद्वारमै उभिएको ‘लण्डन ब्रिज’ को झल्को दिने भव्य संरचनाले आगन्तुकलाई पहिलो पाइला चाल्नुअघि नै रोकिदिन्छ । प्रवेश नै एउटा अनुभव बनेको छ ।
दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ अन्तर्गत निर्माण गरिएको यो प्रवेशद्वार कुनै साधारण गेट होइन । बेलायतको ऐतिहासिक ‘लण्डन ब्रिज’ कै आकृति सम्झाउने गरी तयार पारिएको यो संरचनाबाटै दर्शकहरू मेला परिसरमा प्रवेश गर्छन् । यही कारण, मेला सुरु हुनु अघिदेखि नै यहाँ भीड जमिन थाल्छ-कोही अडिएर संरचनाको बनावट नियाल्छन्, कोही मोबाइल निकालेर तस्बिर र भिडियो खिच्न व्यस्त देखिन्छन् ।
पहिलो चार दिनमै ‘लण्डन ब्रिज’ को प्रतिमाले दर्शकको ध्यान तानिसकेको छ । युवापुस्ताको सेल्फी र टिकटक भिडियो त छँदैछ, वृद्धवृद्धासमेत कौतूहलका साथ फोटो खिच्दै रमाइरहेका देखिन्छन् ।
“मेलामा भित्रिनुअघि नै रमाइलो अनुभूति हुन्छ, एक दर्शक भन्छन्, यो गेटले मेला अरू वर्षभन्दा बिल्कुलै फरक बनाइदिएको छ ।
आयोजक नेपाल मगर सङ्घ घोराही उपमहानगर कार्यसमितिका अध्यक्ष बेदबहादुर बुढा मगरले मेलालाई अरूभन्दा अलग पहिचान दिनकै लागि यस्तो संरचना तयार गरिएको बताउनु भयो ।
प्रवेशद्वारमै आकर्षण हुँदा दर्शकको उत्साह दोब्बर हुन्छ, उहाँ भन्नुहुन्छ, यसले मेलाको रौनक सुरुदेखि नै बढाइदिन्छ । उहाँका अनुसार, आगामी दिनमा दर्शकको चाप अझै बढ्ने अपेक्षा गरिएको छ ।
‘लण्डन ब्रिज’ को यो प्रतिमा केवल प्रवेशद्वारको भूमिकामा सीमित छैन । यसले मेलालाई चिनाउने एउटा ‘पहिचान बिन्दु’ को रूप लिएको छ । धेरै आगन्तुकका लागि यो तस्बिर र भिडियोमार्फत सम्झनामा बस्ने विशेष दृश्य बनेको छ ।










