२०८३ बैशाख १८ गते शुक्रवार

घोराही मेलामा दर्शकको उत्साह बढ्दो : तेस्रो दिन १५ हजार बढीको सहभागिता

घोराही । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ मा दर्शकको उत्साहजनक सहभागिता बढ्दै गएको छ ।
मेलाको तेस्रो दिन आज १५ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरेको मेला आयोजक नेपाल मगर संघ घोराही उपमहानगरपालिका समितिका अध्यक्ष बेदबहादुर बुढा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार मेला सुरु भएदेखि नै प्रत्येक दिन दर्शकको सहभागिता क्रमशः बढ्दै गएको छ । नेपाल मगर संघ दाङ जिल्ला समन्वय समिति र घोराही उपमहानगरपालिकाको संरक्षकत्वमा तथा नेपाल मगर संघ घोराही उपमहानगर कार्यसमितिको आयोजनामा सञ्चालित यस मेलाको मुख्य उद्देश्य संघको बहुउद्देश्यीय सांस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउनु, स्थानीय संस्कृति संरक्षण गर्नु र दाङको पर्यटन प्रवद्र्धन गर्नु रहेको अध्यक्ष बुढा मगरले बताउनुभयो ।

दर्शकको थप आकर्षणका लागि मेलास्थलमा आइफेल टावर, लण्डन ब्रिज र जलपरी जस्ता आकर्षक संरचनाहरू निर्माण गरिएको छ । आयोजकका अनुसार भोलिदेखि जलपरी पनि औपचारिक रूपमा प्रदर्शनीमा राखिनेछ । यस्ता संरचनाले मेलालाई पारिवारिक अवलोकन र फोटो खिच्ने गन्तव्यका रूपमा समेत स्थापित गरेको छ ।मेलामा मौलिक नृत्य, परम्परागत भेषभूषा, स्थानीय खानाका परिकार, हस्तकला तथा पर्यटन प्रवद्र्धनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनीले वातावरणलाई अझ रंगीन र जीवन्त बनाएको छ । स्थानीय कला र संस्कृतिको जगेर्नासँगै मनोरञ्जनलाई समेत प्राथमिकता दिइएको आयोजकको भनाइ छ ।

प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ भने क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि ८० रुपैयाँ र पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजकले मेलाको बाँकी दिनहरूमा अझ बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस