२०८२ माघ ६ गते सोमवार

घोराही–१५ विकासनगर टोलमा एकहप्ते उद्धोषण, भाषणकला तथा लैंगिक हिंसा नियन्त्रण सम्बन्धी प्रशिक्षण सम्पन्न

पौष २७ घोराही
घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित विकासनगर टोलमा विकासनगर लैंगिक हिंसा निवारण समितिको आयोजनामा एकहप्ते उद्धोषण, भाषणकला तथा लैंगिक हिंसा नियन्त्रण सम्बन्धी प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। टोल विकास संस्थाले निरन्तर रूपमा सिपमूलक तथा चेतनामूलक तालिम सञ्चालन गर्दै आएको क्रममा यसपटक संस्थाकै सक्रियतामा उक्त कार्यक्रम आयोजना गरिएको हो।उद्धोषण तथा भाषणकला प्रशिक्षण टोलवासीहरूमा आत्मविश्वास विकास गर्ने, सार्वजनिक कार्यक्रममा निडर भएर आफ्ना विचार व्यक्त गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो। त्यस्तै, लैंगिक हिंसा नियन्त्रण सम्बन्धी प्रशिक्षण घोराही उपमहानगरपालिकाले माघ १५ गते आफ्नो स्थापना दिवसको अवसरमा लैंगिक हिंसा नियन्त्रण नगर घोषणा गर्ने तयारी गरिरहेको सन्दर्भमा सो अभियानलाई सफल पार्न र टोलबासीहरूलाई लैंगिक हिंसाका स्वरूप, कारण, प्रभाव तथा कानुनी व्यवस्था बारे जानकारी गराउने लक्ष्यका साथ आयोजना गरिएको आयोजकले बताएको छन्।

समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघको केन्द्रिय सचिव तथा घोराही बनाउ अभियानका संयोजक सविन प्रियासनले विकासनगर टोल विकास संस्थाले गरेको यो पहल अनुकरणीय रहेको बताउँदै भन्नुभयो, “लैंगिक हिंसा अन्त्यको सुरुवात घर र टोलबाटै हुनुपर्छ। आज यहाँ गरिएको प्रशिक्षणले महिलामात्र होइन, पुरै समुदायलाई सचेत बनाउने काम गरेको छ। बोल्न जान्नु, आफ्ना अधिकार बुझ्नु र अन्यायविरुद्ध आवाज उठाउन सक्नु नै सशक्तिकरण हो।” उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका मुख्य वक्ता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले लैंगिक हिंसा सामाजिक विकृति भएको बताउँदै यसको अन्त्यका लागि कानुनी मात्र होइन, सामाजिक सोच परिवर्तन पनि आवश्यक रहेको उल्लेख गर्नुभयो। “घोराहीलाई लैंगिक हिंसा नियन्त्रण नगर घोषणा गर्ने हाम्रो अभियान सफल बनाउन समुदायको भूमिका अत्यन्तै महत्वपूर्ण छ। घर–घरमा चेतना पुगेन भने ऐन, कानुनले मात्र हिंसा रोक्दैन,” उहाँले भन्नुभयो, “महिला आफैं सचेत, आत्मनिर्भर र आत्मविश्वासी बन्न सके मात्रै हिंसाको विरुद्ध लड्न सकिन्छ। त्यसका लागि यस्ता तालिमहरू अत्यन्तै उपयोगी छन्।” उहाँले टोलस्तरमै कार्यक्रम आयोजना गर्ने विकासनगर टोल विकास संस्थाको प्रशंसा गर्दै उपमहानगरपालिकाले आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथि घोराही १५ बिकासनगर टोलका अध्यक्ष बेचन वलीले विकासनगर टोललाई नमुना टोल बनाउने लक्ष्यका साथ विभिन्न सामाजिक अभियान सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो। यस्तै टोलका सचिव दीपक वलीले पनि यस्ता तालिमले समुदायलाई एकजुट बनाउने र सकारात्मक सोच विकास गर्ने बताउनुभयो। कार्यक्रम विकासनगर लैंगिक हिंसा निवारण समितिका अध्यक्ष जानका रेग्मीको अध्यक्षता र उपाध्यक्ष शोभा शाहको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण बिकासनगर लैंगिक हिंसा निवारण समितिको सचिव अनिता वलीले गर्नुभएको थियो । कार्यक्रमका प्रशिक्षकमा टोल अध्यक्ष बेचन वली र सचिव दीपक वली रहनुभएको थियो भने अतिथि प्रशिक्षकको रूपमा प्रतिक्षा वली रहनुभएको थियो। तालिममा सहभागी प्रशिक्षार्थी शोभा केसी, बमकुमारी पुन, भावना वली, तारा खत्री र सुनिता वलीले एकहप्ता तालिम लिँदा आफूमा ठूलो परिवर्तन आएको अनुभव सुनाउनुभयो। “पहिले म स्टेजमा बोल्न डराउँथेँ, अहिले आत्मविश्वास बढेको छ,” सहभागीहरूको भनाइ थियो, “लैंगिक हिंसाबारे पनि धेरै कुरा थाहा पायौँ, अब आफूमात्र होइन अरूलाई पनि सचेत गराउँछौं।” स्थानीयस्तरमै यस्ता सिपमूलक तथा चेतनामूलक तालिम सञ्चालन हुँदा समाजमा सकारात्मक परिवर्तन आउने विश्वास सहभागी तथा आयोजकहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस