२०८२ पुष १८ गते शुक्रवार

‘लैंगिक हिंसा मुक्त घोराही’ अभियानलाई टेवाः विकासनगरमा निवारण समिति स्थापना

घोराही १३ पौष
घोराही १५ विकासनगर टोल विकास संस्थाले लैंगिक हिंसा न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यसहित विकासनगर लैंगिक हिंसा निवारण समिति गठन गरेको छ। समिति गठन कार्यक्रममा सहभागीहरूको सर्वसम्मत निर्णयअनुसार जानकी रेग्मी अध्यक्षमा चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा शोभा शाह, सचिवमा अनिता वली, कोषाध्यक्षमा भावना वली र सल्लाहकारमा सुनिता वली रहनुभएको छ। आवश्यकताका आधारमा आगामी दिनमा अन्य पदाधिकारी तथा सदस्यहरू थप गर्ने गरी समिति गठन गरिएको टोल विकास संस्थाले जनाएको छ। घोराही उपमहानगरपालिकाले यही माघ १५ गते मनाउन गइरहेको स्थापना दिवसको अवसरमा ‘लैंगिक हिंसा मुक्त नगर घोराही’ घोषणा गर्ने तयारी गरिरहेको सन्दर्भमा टोल–टोलबाट सक्रिय सहभागिता आवश्यक ठहर गर्दै उपमहानगरपालिकाले आह्वान गरेको छ। सोही आह्वानअनुसार स्थानीयस्तरमै सचेतना, निगरानी र सहकार्य बढाउने उद्देश्यले विकासनगरमा लैंगिक हिंसा निवारण समिति गठन गरिएको हो।

कार्यक्रममा बोल्दै विकासनगर टोल विकास संस्थाका अध्यक्ष बेचन वलीले घोराही उपमहानगरपालिकाको स्थापना दिवससँग सम्बन्धित कार्यक्रम सम्पन्न भएपछि यस समितिलाई विकासनगर आमा समूहमा परिणत गरिने जानकारी दिनुभयो। उहाँका अनुसार यसले दीर्घकालीन रूपमा महिला सशक्तीकरण, हिंसा विरुद्धको अभियान र सामाजिक सचेतनामा टेवा पुग्नेछ।नव–निर्वाचित अध्यक्ष जानकी रेग्मीले आगामी कार्ययोजनाबारे धारणा राख्दै टोलस्तरमा लैंगिक हिंसासम्बन्धी सचेतना अभिवृद्धि, पीडितलाई आवश्यक परामर्श तथा सहजीकरण, स्थानीय निकायसँग समन्वय र समुदायमा शून्य सहनशीलताको सन्देश प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समिति गठन तथा लैंगिक हिंसासम्बन्धी तालिम कार्यक्रम विकासनगर टोल विकास संस्थाका अध्यक्ष बेचन वलीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उप–प्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण टोल विकास संस्थाका सचिव दीपक वलीले गर्नुभएको थियो भने तालिम प्रशिक्षणमा उप–प्रमुख डिसी स्वयं सहभागी रहनुभएको थियो। उक्त अवसरमा वक्ताहरूले लैंगिक हिंसा न्यूनीकरणका लागि स्थानीय समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै टोल–टोलमा गठन भएका यस्ता समितिहरूले सुरक्षित, समावेशी र सम्मानजनक समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस