२०८२ मङ्सिर १८ गते बुधवार

समाज सेवामा निरन्तर सक्रिय खुमा फाउन्डेसन : महेन्द्र ज्योति विद्यालयका ९३ विद्यार्थीलाई न्यानो पोशाक वितरण

मंसिर १७, स्याङ्जा।
स्याङ्जाको भिरकोट नगरपालिका–७ स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खुमा अर्याल फाउन्डेसन स्याङ्जाले न्यानो पोशाक वितरण गरेको छ। बुधबार सम्पन्न कार्यक्रममा कुल ९३ जना विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको विद्यालयले जानकारी दिएको छ। भिरकोट नगरपालिका–७ को आग्रहअनुसार विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई लक्षित गरी पोशाक वितरण गरिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए। उनका अनुसार फाउन्डेसनले मासिक रुपमा सञ्चालन गर्दै आएको सामाजिक योगदान कार्यक्रमअन्तर्गत यस महिनामा न्यानो पोशाक वितरण अभियानलाई प्राथमिकता दिइएको हो।

शिक्षामा लगानी, उज्यालो भविष्यको आधार – नगर प्रमुख कर्माचार्य

कार्यक्रमको उद्घाटन गर्दै भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय योगदान गरिरहेको फाउन्डेसनको कार्यप्रति आभार व्यक्त गरे। उनले सभ्य र जिम्मेवार नागरिक उत्पादनको पहिलो आधार नै गुणस्तरीय शिक्षा भएको उल्लेख गर्दै राज्यले गरेको लगानीलाई प्रभावकारी रूपमा उपयोग गर्न सबै पक्ष जुट्नुपर्नेमा जोड दिए। उनका अनुसार न्यानो पोशाक वितरणजस्ता कार्यक्रमले विद्यार्थीहरूमा अध्ययानप्रति थप प्रोत्साहन जागृत हुने र शिक्षाको वातावरण सुधारिने विश्वास व्यक्त गरे।

फाउन्डेसनको सामाजिक प्रतिबद्धता प्रशंसनीय– उपप्रमुख अर्याल

कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्यालले खुमा अर्याल फाउन्डेसनले गर्दै आएको मानविय र सामाजिक कार्यप्रति प्रशंसा व्यक्त गर्दै समाजका सबै क्षेत्रमा यस्ता संस्थाहरूको योगदान आवश्यक रहेको बताइन्। उनले फाउन्डेसनले विपन्न वर्गका बालबालिकालाई प्रदान गरेको सहयोग शिक्षामा पहुँच विस्तार गर्ने महत्वपूर्ण कदम भएको उल्लेख गरिन्।

सामाजिक सहयोगले प्रेरणा मिल्दछु – संस्थापक खुमा प्रसाद अर्याल

फाउन्डेसनका संस्थापक तथा वरिष्ठ उद्यमी खुमा प्रसाद अर्यालले समाजको साथ र सहकार्यले आफूलाई निरन्तर सामाजिक सेवामा सक्रिय रहन प्रेरित गरेको बताए।ूहाम्रो सानो सहयोगले कुनै विद्यार्थीको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ अर्यालले भने त्यसैले आगामी दिनहरूमा पनि समाजोपयोगी कार्यक्रमहरू निरन्तर जारी रहनेछन्।ू कार्यक्रममा शिक्षक अभिभावक संघका संयोजक दीपक रोकाले फाउन्डेसन तथा नगरपालिकालाई आभार व्यक्त गर्दै विद्यार्थीहरूलाई उपयोगी सहयोग निरन्तर हुने आशा व्यक्त गरे। उनले विद्यालयमा आएको समर्थनले सिकाइको वातावरण थप समृद्ध बन्ने उल्लेख गरे।

फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका नवनियुक्त प्रधानाध्यापक उदय शर्मा लामिछानेले स्वागत मन्तव्य राखेका थिए।सोही अवसरमा वडा अध्यक्ष तारा अर्यालले धन्यवाद ज्ञापन गर्दै फाउन्डेसन र सहयोगी निकायलाई निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव ध्रुव शर्माले गरेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस